पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् ।

एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा सातवटा पुल निर्माण भई ५० हजार मानिसले सुविधा पाउनु पर्ने थियो । तर म्यादभित्र पुल नबन्दा स्थानीयले झोलुंगे पुल प्रयोग तथा लामो बाटो घुमेर सामान ढुवानी गर्नु परेको छ ।

डिभिजन सडक विभाग भरतपुर साइट अफिस गजुरीका इन्जिनियर कृष्णबहादुर खड्काका अनुसार जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको पुल ३० महिनाअघि निर्माण सम्पन्न गर्नुपर्ने थियो । त्रिशूली नदीमाथि १९२ मिटर लामो प्रिस्ट्रेस (आरसीसी) पुल निर्माण गर्न २०७१ असार ३१ गते सपना, हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्स्ट्रक्सन जेभीले १५ करोड ११ लाख ३५ हजार ५६४ रुपैयाँमा सम्झौता गरे । निर्माण कम्पनीले तीन वर्षभित्र २०७४ असार ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म नसकेका कारण पटकपटक म्याद थप गर्दै २०७७ चैत मसान्तसम्म पु¥याएको छ । पुलको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको र एप्रोच रोड निर्माण बाँकी रहेकाले निर्माण सम्पन्न भएको मान्नुपर्ने इन्जिनियर खड्काले बताए ।

यसैगरी पुल निर्माण गर्नमात्र खडा गरिएको कार्यालय पुल योजना सेक्टर नं .२ पाटनढोकाले त्रिशूली नदीमाथि छ स्थानमा मोटरबेल पुल बनाउँदै छ । लुम्बिनी र प्रकृतिले संयुक्त रूपमा १८ करोड, ६१ हजार तीन सय ९६ रुपैयाँमा गल्छी गाउँपालिकाको गल्छी र घर्तीटार जोडने पुल निर्माण गर्न २०७४ साल मंसिर २७ गते सम्झौता गरेको थिए । निर्माण कम्पनीले २०७७ साल मंसिर २६ गते काम सम्पन्न गरिसक्नु पर्ने थियो । कामको विद्यमान अवस्था हेर्ने हो भने अर्को हिँउदसम्म लाग्ने देखिन्छ । यो पुलमा ८० मिटर स्टिल पार्ट हुने भएकाले बर्खामा काम गर्न जोखिम हुने निर्माण कम्पनीका इन्जिनियर मोहन बस्नेतले बताए ।

यसैगरी गल्छी गाँउपालिकाकै वैरेनीको जिन्टेटार र सालटार जोड्ने पुल निर्माण गर्न २० करोड ६८ लाख ९५ हजारमा रसुवा पप्पुलले संयुक्त रूपमा २०७३ साल असार ३० गते सम्झौता गरेको छ । सम्झौताअनुसार २०७७ पुस २९ मा पुल निर्माण गरिसक्नु पर्ने थियो । गल्छी गाँउपालिकाकै मासटार र केउरेनीटार जोड्न पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्त रूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो । यस पुलमा पनि ८० मिटर स्टिल पार्ट हुनेछ । तर अहिलेसम्मको कामलाई हर्ने हो भने अझ एक वर्ष लाग्ने देखिन्छ ।

गजुरी गाउँपालिका जरेखेत र सिद्धलेक गाउँपालिकाको अमनटार जोड्ने जरेखेतमा पुल निर्माण गर्न १५ करोड १३ लाखमा तुदी, लामा र सपनाले संयुक्तरूपमा २०७३ साल असार ३० गते सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो । यसैगरी गजुरी गाउँपालिका घाछबेंसी र सिद्धलेक गाउँपालिका जोड्ने घाटबेंसीको पुल निर्माण गर्न हिराचन, महादेव, खिम्ती र इलिटले संयुक्त रुपमा २०७३ असार ३० गते सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ पुस २९ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । यसैगरी बेनीघाट–रोराङ गाउँपालिका रिचोकटार र सिद्धलेक गाउँपालिका आरुवासटार जोड्ने हिलटप पुल निर्माण गर्न महावीर, निलगिरि र नेसनलले २०७४ मंसिर २५ गते सम्झौता गरेको थिए । सम्झौताअनुसार २०७७ जेठ २४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सातवटै पुल निर्माण गर्न सम्झौता गरेको रकम भ्याटबाहेकको हो ।

पटकपटक सम्बन्धित निर्माण कम्पनीहरूलाई समयमै काम सक्न भनेका छौं । काम निकै ढिलो भएको छ । निर्माण कम्पनीहरूले नाकाबन्दी र कोभिड–१९ को कारण देखाउँदै काम ढिलो गरिरहेका छन् । अब म्याद सकियो । सालसालै मन्त्रिपरिषद्को निर्णयले स्वतः छ महिना म्याद थप गरेको छ । म्याद थप गरिएको समय सीमामा पनि काम पूरा नगर्नेलाई सम्झौता रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत अर्थात प्रतिलाखमा पाँच हजार हर्जाना लाग्ने व्यवस्था रहेको पुल योजना सेक्टर कार्यालय पाटनढोकाका प्रमुख अंगलाल रोकायले बताए । तर हिलटपस्थित पुल निर्माण कम्पनीको ठेक्का तोड्नु पर्ने देखिन्छ । त्यस कम्पनीलाई जति समय थपे पनि काम सम्पन्न हुन देखिएको छैन । हाम्रो कानुन पनि त्यही किसिमको छ । कानुन संशोधन नभएसम्म काम गर्न कठिन छ प्रमुख रोकायले भने ।

राजेन्द्र बस्नेत / कारोबार