ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण
674 पटक पढिएको

धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ ।
धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई सोमबार एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण गरिएको हो ।
धुनिबेशी नगरपालिका वडा नं। ६ मा रहेको जाल्पादेवि ईट्टा उद्योगका उद्योगी सञ्जय नकर्मिको प्रमुख आतिथ्यमा भएकोसो कार्यक्रममा १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । शैक्षिक सामाग्रीको उपयोगिताका बारेमा जानकारी गराउन अभिभावकको उपस्थितिमा बालबालिकाहरुलाई ति सामाग्री हस्तान्तरण गरिएको हो ।
ईट्टा उद्योगमा बालश्रम उन्मुलन गर्न मजदुरका बालबालिकाहरुलाई बेटर ब्रिक नेपाल कार्यक्रम मार्फत प्रयास नेपाल धादिङले बिद्यालय अध्ययन सहयोग सामाग्री सहयोग गरेको हो । ईट्टा उद्योगको समग्र रुपान्तरणका लागि सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजनाले धादिङ जिल्लामा रहेका ईट्टा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई बिद्यालय अध्ययन सहजताको लागि सहयोग गर्दै आएको छ ।
धादिङ जिल्लामा बेटर ब्रिक नेपाल कार्यक्रम संचालन भएको ३ वटा ईट्टा उद्योगको विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गरेर आवश्यक शैक्षिक सामाग्री (कापी कलम, पेन्सिल, कटर, ईलेजर, झोला, ड्रेस) प्रदान गरेको र २ वटा ईट्टा उद्योग जाल्पादेवी र एभरेष्ट ईट्टा उद्योगमा विद्यालयमा जाने उमेर नपुगेका बालबालिकालाई ईट्टा उद्योग नजिकै प्रारम्भिक बाल विकास तथा शिक्षा केन्द्र संचालन गरि खाजा कार्यक्रम अन्र्तगत ३० जना बालबालिकाहरुलाई टिफिन बक्स प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक सुनिता कडेलले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, १० फाल्गुन सोमबार २२:२० मा प्रकाशित