तिकराङबाट त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

977 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २५ फाल्गुन  । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर १० तिकराङस्थित पृथ्वीराजमार्गबाट सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौँ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक मंगलबार बिहान एक बजेतिर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सोही ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् । दुवै जनाको शव क्याबिनमा थिचिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

दुर्घटनाको खबर आएपछि उद्धारका लागि गएको इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी जोगीमारा र सशस्त्र प्रहरी बलको टोलीले तीन घन्टाको प्रयासपछि शव निकालेको निरीक्षक पाण्डेको भनाइ छ ।

ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशूली नदीको किनारमा खसेको छ ।