धादिङ जिल्ला अदालतको नयाँ भवनको उद्घाटन

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – सदरमुकाम धादिङबेसीमा रहेको धादिङ जिल्ला अदालतको नयाँ भवनको उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपककुमार कार्कीले सोमबार एक कार्यक्रमका बिच नयाँ भवनको उद्घाटन गर्नु भएको थियो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश डाक्टर देवेन्द्र चुडालको अध्यक्षतामा भवन उद्घाटन् कार्यक्रम सम्पन्न भएको हो ।
बिक्रम सम्बत २०७२ सालको भुकम्पका कारण तत्कालिन जिल्ला अदालतको भवन भत्किएपछि २०७३ साल फागुन २६ गते सार्वेच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले धादिङ जिल्ला अदालतको नयाँ भवन शिलान्यास गर्नु भएको थियोे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण गरिएको उक्त भवन कुल ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ ३३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । तीन तला रहेको भवनमा ३४ वटा कोठा रहेको छ । भवन अपाङ्गमैत्री हुनुका साथै लिफ्ट समेत जडान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, वागमती प्रदेश सभाका सदस्य डाक्टर रामकुमार अधिकारी,जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगाना,  प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल,विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, कानून व्यवसायी लगायतको आतिथ्य रहेको थियो ।