एन्फा प्रेसिडेन्ट कपमा लेकाली युवा क्लब जुम्ला धादिङ समाजबाट ९–१ गोलले पराजित

937 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

नेपालगन्ज – बाँके जिल्लाको नेपालगञ्जमा जारी रहेको एन्फा प्रेसिडेन्ट लिगमा बागमती प्रदेश लिग च्याम्पियन धादिङ समाज र लुम्बिनी प्रदेश च्याम्पियन बाँकेको धम्बोझी युवा क्लब विजयी भएका छन्। नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा धादिङ समाजले कर्णाली प्रदेश लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ गोलले पराजित गरेको हो ।

खेलमा धादिङका दुई जना खेलाडीले ह्याट्रिक गरेका छन्। अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरेर खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार प्राप्त गर्न सफल भए। अमीरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए।

धादिङका शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए।

लेकालीको तर्फबाट संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए। अर्को खेलमा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० गोलले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा धम्बोझीका पूर्णबहादुर गुरुङले ४२ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो। गुरुङ म्यान अफ द म्याचसमेत भए। एन्फा प्रेसिडेन्ट लिग ७ वटा प्रदेश लिग च्याम्पियनले प्रतिस्पर्धा गरिरहेका छन्।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशबाट धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदूर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैया र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन्।

बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने धादिङका खेलाडीलाई प्रोत्साहन स्वरुप धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्सद ढुङ्गानाले २ लाख र जिल्ला फुटवल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले १ लाख नगद सहयोग गर्ने घोषणा गरेका छन ।
नगरप्रमुख ढुंगाना र जिल्ला फुटवल संघ धादिङका अध्यक्ष खतिवडाले नेपालगन्जमा पुगेर धादिङका खेलाडीहरुलाई भेटेर उक्त सहयोगको घोषणा गरेका हुन ।

  • तस्बिर-  पत्रकार नारायण सिलवालबाट