नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

1072 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो ।

राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ ।
नागढुंगा–मुग्लिङ सडक अहिले डेढ देखि दुई लेन सम्मको मात्रै छ । सडक साँघुरो हुँदा अत्याधिक भार भएका मालवाहक सवारीसाधनकोे ओहोरदोहोरले गर्दा यस सडक खण्डमा जताततै जुनसुकै बेला ट्राफिक जामको समस्या हुने गरेको छ ।

सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो ।साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिन सडक खण्ड जस्तै बनाउन खोजिएको हो ।

बजार क्षेत्रमा ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा-नौविसे खण्ड ३ लेनमा विस्तार गर्न लागिएको (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख अमृतमणी रिमालले जानकारी दिए । यो सडक खण्डको लम्बाई ९६ किलोमिटर लामो छ ।

विश्व बैंकको ऋण सहयोगमा सरकारले सडक निर्माणको लागि पूर्वतयारीको काम गरिरहेको सडक विभागले जनाएको छ । विभागले असारसम्ममा ठेक्का लागिसक्ने दाबी गरेको छ ।

सडकलाई नागढुंगा–नौबीसे, नौबीसे–मलेखु र मलेखु–मुग्लिङ गरी ३ वटा प्याकेजमा बाँडेर स्तरोन्नति गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।

ट्राफिक जाम तथा सडक दुर्घटना न्यूनीकरण गर्दै सरकारले ९६ किलोमिटर लामो सडकसँगै ६ वटा नयाँ पुल बनाउने योजना समेत अघि सारेको छ। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले बजार क्षेत्रमा ४ लेनको सडक र अन्य क्षेत्रमा कम्तीमा दुई लेनको हुने बताए।

‘मुग्लिङदेखि नागढुंगासम्म कम्तीमा ९ मिटरको सडक हुनेछ’, उनले भने, ‘७ मिटर सडक निर्माण हुनेछ भने दुवै छेउमा १–१ मिटर छाडिनेछ।’ करिब ३६ किलोमिटर सडकमा मालवाहक सवारीको लागि डेडिकेटेड लेन विस्तार गर्ने योजना छ।

सडक विस्तारका लागि विभागले निर्माण कम्पनीसँग आशय माग गरिसकेको छ। इच्छुक कम्पनीको अहिले विभागले योग्यता जाँच गरिरहेको छ। त्यसमा सफल हुने कम्पनीलाई सूचीकृत गरी उनीहरुसँग आर्थिक र प्राविधिक प्रस्ताव मागेर तीन वर्षमा काम सक्ने गरी ठेक्का दिने विभागको तयारी छ।

‘अहिले ठेक्का व्यवस्थापनको काम हुँदै छ। असारसम्म ठेक्का लागिसक्छ’, भट्टले भने, ‘सडक स्तरोन्नतिको लागि करिब १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।’ त्यसमा ७० प्रतिशत विश्व बैंकबाट ऋण लिइने र बाँकी नेपाल सरकारले नै खर्च गर्नेछ।

विस्तारित सडक भत्किए वा अन्य कुनै समस्या देखिए ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्ने गरी विभागले ठेक्का सम्झौता गर्नलागेको छ।

मुग्लिङ–नारायणगढ खण्डको सडक विस्तार गर्दा धेरै पहाड काट्नुपरेको थियो। मुग्लिङ–नागढुंगामा अहिले सडक भएकै ठाउँलाई फराकिलो बनाउन समस्या हुने भन्दै त्रिशूली वारिपारिबाट दुई / दुई लेनको सडक बनाउने चर्चा चलेको थियो।

‘जग्गा व्यवस्थापनमा समस्या देखिएपछि अहिले भएकै बाटोलाई कम्तीमा दुई लेनमा बनाउने गरी अगाडि बढेका छौँ’, भट्टले भने, ‘मुग्लिङ–नागढुंगा खण्डमा बढी भीर काट्नेभन्दा खोला छेउमा उपलब्ध ठाउँमा सडक बनाउने तयारी छ।’

सिस्नेखोलादेखि नागढुंगासम्म सुरुङमार्ग निर्माण भइरहे पनि अहिले भइरहेको सडक विस्तार हुने विभागले जनाएको छ। सुरुङमार्ग बाहिरबाट जान चाहने गाडीको लागि सडक आवश्यक हुने विभागको भनाइ छ ।

  • नेपालखबरबाट