धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

766 पटक पढिएको

प्रकाशित मिति: २०७७, १२ चैत्र बिहीबार १५:०८

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ,१२ चैत – धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो ।


बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको जोखिम पुनः बढेकाले सार्वजनिक कार्यक्रममा थप सर्तकता अपनाउन सवैलाई आग्रह  गरेको हो ।


केन्द्रका अध्यक्ष प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले नेपालमा पुनः कोरोनाको जोखिम बढेसंगै राजधानीसंग सिमाना जोडिएको जिल्ला धादिङमा पनि जोखिम बढ्न सक्ने भन्दै थप सजगता अपनाउने तथा संक्रमित हरुलाई राख्न सबै स्थानीय तहहरुमा यस अघि सञ्चालनमा रहेको क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्ने आग्रह गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि जारी गरेको पे्रस विज्ञप्ती र गृह मन्त्रालयको परिपत्रलाई आधार मान्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले ‘जिल्लाभित्र सभा, जुलुस, ¥याली, भेला, महोत्सव, जमघट,गोष्ठी, सेमिनार लगायत भिडभाड हुने व्यवसायहरु नगर्ने र नगराउने, मास्कको अनिवार्य प्रयोग गराउने गरी सावधानी अपनाउन सूचना जारी गर्ने’ निर्णय गरेको हो । केन्द्रको उक्त निर्णय पछि धादिङमा यसै साता हुन लागेका तीनवटा महोत्सव समेत प्रभावित भएका छन् ।


साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा चैत १२ देखि २४ गते सम्म जिल्लाको गजुरी गाउँपालिकाको गजुरी वजारमा आयोजना गरिएको महोत्सव बुधवार अनिश्चितकालका लागि स्थगित गरिएको छ । त्यसै गरि ज्वालामुखी गाउँपालिकामा फागुपुर्णिमाको अवसर पारेर आयोजना गरिएको दुई छुट्टाछुट्टै महोत्सव पनि प्रभावित भएका छन । ज्वालामुखी गाउँपालिका आयोजक र बसाहमण्डली संरक्षण समिति सहआयोजक भएर चैत १५ गते आयोजना गरिएको प्रथम ढोला सांस्कृतिक,पर्यटन खेलकुद महोत्सव र ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा चैत १५ गतेनै आयोजना गरिएको प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव पनि रोकिने भएका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, १२ चैत्र बिहीबार १५:०८ मा प्रकाशित