बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी

1141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ चैत – विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका गरिब तथा विपन्न समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ प्रभावकारी देखिएको छ ।

बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र तल्लो कक्षाका छात्राबीचको बृहत सञ्जाल बनाई कार्यक्रम सञ्चालन हुंदै आएको छ ।

कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि र स्थानीय सरकारलाई विद्यालय सुशासनमा सहयोग गर्नुका साथै बालिकाहरुको कक्षा छाड्ने दर घटाउन समेत महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरुले बताएका छन् ।

भिएसओ नेपालका सहयोगमा आसमान नेपालद्वारा आठ वर्षअघि देखि वाग्मती प्रदेशको धादिङ, गण्डकी प्रदेशको लमजुङ, प्रदेश नं २ को पर्सा र कर्णाली प्रदेशको सुर्खेतमा ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ सञ्चालन भईरहेको छ ।

कार्यक्रमको उपलव्धि र प्रभावकारिताका बिषयमा सरोकारवालाहरुका बिच छलफल गर्न शिक्षा पत्रकार समाजले बिहिबार धादिङबेसीमा वागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकार पक्षको सहभागिता रहेको थियो । ‘ठूली दिदी’ले ‘सानी बहिनी’लाई पढाइ र घरायसी कामका साथै अन्य काममा सघाउने र स्वयंसेवी कामले बालिकाको अधिकारको प्रवद्र्धनमा पनि टेवा पुगेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए ।

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ परियोजना पर्सा जिल्लाको ११, धादिङ र सुर्खेतका पाँच पाँच र लमजुङका ६ स्थानीय तहमा सञ्चालित रहेको वताईएको थियो । कार्यक्रमले बाल संरक्षण तथा सुरक्षा, सामुदायिक स्वयंसेवी कार्यक्रममार्फत अभिभावकको सहभागिता आदि क्षेत्रमा सुधार गरेको सहभागिहरुले बताए ।

गरिब विपन्न समुदायका बालिकालाई विद्यालयमा टिकाउने, गुणस्तरीय रुपमा सिकाउने, भविष्यमा सक्षम जनशक्ति तयार गर्ने र माध्यमिक तहसम्म लैजाने लक्ष्य लिएर सञ्चालित कार्यक्रमको ९४ प्रतिशत सफलता रहेको आसमान नेपालका धादिङका संयोजक सुरेश सत्याल बताउँछन् ।

अन्तरक्रिया कार्यक्रम बागमति प्रदेश सभाको शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति घनश्याम दाहाल, बागमती प्रदेशका सांंसद मिलन बाबु श्रेष्ठ, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, सामाजिक विकास मन्त्रालय शिक्षा सचिव डाक्टर विजय नेपाल, शिक्षा विकास निर्देशनालय वागमती प्रदेश हेटौडाका निर्देशक चन्द्रप्रसाद लुईटेल , शिक्षा विकास समन्वय धादिङका शिक्षा शाखा अधिकृत कृष्णकुमार श्रेष्ठ ,गैसस महासङघ वागमती प्रदेशका अध्यक्ष दामोदर अर्यााल ,सामुदायिक विद्यालय अभिभावक सङघ धादिङका अध्यक्ष श्याम मगराती लगायतको आतिथ्य रहेको थियो । यसै गरी सञ्चारिका समुह वागमती प्रदेशकी अध्यक्ष सरीता दाहाल ,हेटौडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर , जिल्लाका सामुदायिक स्कुलका शिक्षक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।