बैंकिङ कसूर मुद्दामा बेनीघाटका ध्रुवप्रसाद कँडेल पक्राउ

739 पटक पढिएको

प्रकाशित मिति: २०७८, १२ बैशाख आईतवार २०:४४

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ १२, वैशाख  । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय ध्रुवप्रसाद कँडेललाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।

धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बताएको छ ।

उच्च अदालत पाटनको विसं २०७७ मंसिर १९ को फैसलाले धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेकामा काठमाडौंको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिइन् ।

प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी १२ लाख रुपैयाँको चेक काटी पीडित न्यौपानेलाई दिएका थिए ।

अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १२ बैशाख आईतवार २०:४४ मा प्रकाशित