कामदारमा कोभिड–१९ देखिएसँगै नागढुंगा सुरुङमागको निर्माण कार्य प्रभावित

968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – पहिलो चरणको कोरोना कहरका कारण निर्धारित समय भन्दा धेरै ढिला शुरु भएको राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन नागढुंगा सुरुङमागको निर्माण कार्य प्रभावित भएको छ ।

आयोजनामा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै धेरैजसो कामदारले साइट छाडेर घर फर्किन थालेपछि निर्माण कार्य प्रभावित हुन पुगेको हो ।

सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा एकै साथ कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएको आयोजनाका कर्मचारीहरु बताउँछन ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताउनुभयो । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने क्रम बढिरहेको शाक्यले जानकारी दिनुभयो । कतिपय‘कामदारका घरका सदस्य र आफन्तहरु संक्रमित भएका कारण पनि साइट छाड्नेहरु बढ्दै गएका हुन ।

आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । ‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’

आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’

आयोजनाका अनुसार कोरोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ । अहिलेसम्म मुख्य सुरुङ ९७ मिटर खन्ने काम सकिएको छ । इभाक्युएसन टनेल (सुरुङ) तर्फ भने चार सय मिटर खन्ने काम भइसकेको छ ।

‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम भने केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार सुरुङ खन्ने र बाहिर खन्ने दुवैतर्फका कामदारमा कोभिड–१९ देखिएको छ । आयोजनाका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १२ प्रतिशत भएको  नागरिक दैनिकमा हिमाल लम्सालले खबर लेखेका छन् ।