१० दिनमा नेपालमा ७० हजारले जिते कोरोनालाई संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै

901 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै जान थालेको छ ।

आइतबार मात्रै देशभरबाट ७ हजार ९ सय १४ जना नयाँ संक्रमित थपिँदै गर्दा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयले सार्बजनिक गर्दै आएको पछिल्लो १० दिनको तथ्याङ्क हेर्ने हो भने संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ६९ हजार ९ सय २८ रहेको छ।

यसमध्ये सबै भन्दा धेरै शनिबार अर्थात जेठ ८ गते ८ हजार ८ सय ४८ जना निको भएर घर फर्किएको तथ्याङ्कले देखाएको छ।

त्यसपछि जेठ ५ गते ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

मन्त्रालयको १० दिनको तथ्याङ्क हेर्दा सबै भन्दा कम जेठ १ गते ५ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका थिए।

केही दिन यता नयाँ संक्रमित र निको भएर घर फर्किनेको संख्या उस्तै उस्तै रहेको तथ्याङ्कले देखाएको छ। करिब एक महिला यता संक्रमितको संख्या ह्वात्तै बढेको छ। योसँग मृत्युदर पनि बढ्दै गएका छ।

तर संक्रमण र मृत्यु दर भन्दा पनि निको भएर घर फर्किनेको संख्या केही दिन यता बढ्ना थालेको छ।

मन्त्रालयले सर्बजनिक गर्दै आएको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ३ लाख ९१ हजार ३ सय ४८ जना संक्रमणमुक्त भइसकेका छन्।