धादिङबेसी फोस्रेटार केउरिनी सडक सञ्जाल जोडियो

1135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

गल्छी । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदीमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्नासाथ सडक जोडिन बाँकी रहेको अर्को १० मिटरबाट पनि सडक बनाएर पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार जोडिएको हो ।

पुलको आडैमा रहेको घर जग्गाधनी बाशु खतिवडाले बुधवार हटाईदिएपछि सडक जोड्ने समस्याले निकास पाएको हो । त्रिशूली नदीमा पक्कि पुल बने पनि पुलबाट सडक निस्कने एप्रोच सडकको ट्रयाक नहुँदा सडक सञ्जालसँग बस्ती र पुल जोडिन सकेको थिएन ।
पुलको सबैभन्दा अघिल्लो छेउमा रहेको टहरो जग्गाधनी खतिवडाले हटाएसँगै लामो समय देखिको विवादका रुपमा रहेको सडक जोडिने अर्को मुख्य केन्द्रमा पनि सहमती जुटेको हो । पुल निर्माणका क्रममा ठेकेदार कम्पनी र सडक विभाग भरतपुरले अदालत समक्ष लिखित रुपमा बाशु खतिवडाको घर जग्गामा हानी नोक्सानी नगर्ने बताएको भए पनि आफ्नो कारणले गाउँको विकासमा वाधा नपुगोस भनेर खतिवडाले बुधवार विहान घर भत्काएर सडक बनाउन सहयोग गरेका हुन ।

धादिङको गल्छी गाउँपालिका १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनी जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण शुरु भएको सात वर्षपछि यसै वर्ष सम्पन्न भइसकको छ । २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा निर्माण सम्पन्न भए पनि पुलबाट गाउँसम्म मोटर गुड्न भने पाएको थिएन ।

त्रिशूली नदी माथि १९२ मिटर पुलको निर्माण भएपनि पुलबाट सडक सञ्जाल जोड्ने निकास नहुँदा पुल सञ्चालनमा आउन सकेको थिएन । कूल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण सम्पन्न गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि धादिङको गल्छी गाउँपालिकाको फोस्रेटारबाट धादिङबेसी सदरमुकाम आवत जावत गर्न सजिलो हुनेछ । अहिले यहाँका बासिन्दालाई गल्छी हुँदै फुर्केखोला भएर धादिङबेसी पुग्नु पर्ने बाध्यता रहेको छ ।

पुलको निर्माणले धादिङको सदरमुकाम धादिङबेसीबाट जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार हुँदै फोस्रेटार भएर पृथ्वीराजमार्गको गल्छी हुंदै गर्नुपर्ने यात्राका साथै नुवाकोटको सदरमुकाम विदुर र अन्य ग्रामीण भेगतर्फ आवतजावत गर्न पनि सहज हुनेछ ।

पुलको एक किलोमीटर बाटो ठेकेदार कम्पनीले नै पीच गर्नुपर्ने सम्झौता छ । पुल छेउकै टहरा भएको जग्गा एप्रोच सडक पुग्ने ठाउँमा रहेको अर्को जग्गाको विषयमा लामो समयदेखि रहेको विवादलाई जग्गाधनीहरुले कुनै शर्त नराखी खाली गरिदिएर सहयोग गरेको गल्छी गाउँपालिकाका कानूनी सहजकर्ता एवम् फोस्रेटारका स्थानीयवासी श्रीराम खतिवडाले बताए ।

बाशु खतिवडाले आफ्नो टहरो भत्काएर निकास खोलिदिए पनि पुलबाट गाउँ जोड्ने सडक जोड्ने सडकको १० मिटर खण्ड पनि खुलेको हो । अब धादिङबेसीबाट आएको सडक सञ्जाल फोस्रेटार हुंदै गल्छी त्रिशूली सडकमा जोडिएको छ ।
यो पुलले धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोडे पनि बढी सुविधा धादिङतर्फको नीलकण्ठ र नुवाकोटतर्फको तारकेश्वर गाउँपालिकाले पाउनेछन् ।