निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

1188 पटक पढिएको

प्रकाशित मिति: २०७८, १९ जेष्ठ बुधबार २१:१४

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ ।

भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको भेटिएपछि अनुगमन टोलीले पसल सञ्चालकलाई तत्काल जरिवाना गराएको हो ।

जेठ १७ गते सोमबार त्रिपुरासुन्दरी गाउँपालिकाकै शितलवारमा रहेको एसएस इन्टरप्राईजेजले म्याद गुज्रिएको सामान बिक्री बितरण गरेको भेटिएपछि इन्टरप्राइजेजलाई २० हजार जरीवाना गरिएको छ । त्रिपुरासुन्दरीकै छापथोकमा रहेको ज्ञानु इन्टरप्राईजेजलाई १० हजार, जोए एण्ड जोश इन्टरप्राईजेज आगिन्चोक छापथोकलाई १० हजार, हरि किराना स्टोर्स कोषढुङ्गालाई ५ हजार, सीरानी किराना स्टोर्स खोल्सीलाई ५ हजार, त्रिपुरासुन्दरी बिजनेस हाउस आगिन्चोकलाई ५ हजार जरिवाना गरिएको छ ।

त्रिपुरासुन्दरी विजनेशहाउसबाट ३७ प्रकारका म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको थियो ।

अनुगमन टोलीले ग्रामीण भेगका वजारमा मात्रै होइन सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रका पसलहरुमा पनि अनुगमन गरी गलत काम गर्नेलाई जरिवाना तिराइएको छ ।

धादिङबेशीमा जारी रहेको निषेधाज्ञा उल्लंघन गर्दै पसल खोलिएको पाईएपछि नौलो सिरक डसना उद्योगलाई ५० हजार जरिवाना गराईएको छ । यसै गरी नुवाकोटमा स्टेसनरी पसलको रूपमा दर्ता गरी धादिङमा विभिन्न कारोबार गर्दै आएको नेत्रावती डबजोङ ४, भर्याङभुरूङमा रहेको इसामल्टीपल इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

सदरमुकामबाट निकै टाढाको बस्तीमा रहेका यि पसलमा सबै सामान एकै ठाउँमा राख्नु पर्ने वाध्यता पसल संचालकलाई भएपनि उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गरिएको कारण उनिहरु कारवाहीमा परेका हुन् । ३७ किसिमका म्याद गुज्रिएका सामग्री एउटै पसलमा भेटिएपछि अनुगमन टोली कारवाही गर्न वाध्य हुनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय बताउनुहुन्छ ।

गाउँबस्तीका पसलमा मात्रै होइन सदरमुकामकै पसलमा पनि पनि प्रायः म्याद सकिएको अवस्थामा भेटिने सामानमा हल्का पेय पर्दाथ, बिस्कुट, पिठो, चकलेट, पोट्याटो क्रेकर ,मसलाहरु, तेल,बियर लगायतका सामान हुने गरेको अनुगमन टोलीले जनाएको छ ।

निषेधाज्ञाको मौका छोपेर बजारमा उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गरिनुका साथै मुल्यबृद्धि गराएर ठगी भईरहेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालय धादिङ, निजी क्षेत्रका प्रतिनिधि, उपभोक्ता संस्थाका प्रतिनिधि सहितको संयुक्त टोलीले धादिङको सदरमुकाम देखि जिल्लाका अधिकांश वजार क्षेत्र र गाउँ गाउँका पसलहरुमा पुगेर तीन साता देखि अनुगमन गरिरहेको छ ।

निषेधाज्ञाको समयमा व्यापारीले चामल, दाल, तेल लगायतका खाद्य वस्तुलाई महँगो मूल्यमा बिक्री गर्ने गरेको जनगुनासो बढिरहेकोले बजार अनुगमन कार्यलाई कडाईका साथ अघि बढाईएको पनि सहायक प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।
सदरमुकामका साथै ग्रामीण भेगका अधिकांश पसलहरुमा सामानको म्याद सकिएको भेटिनुका साथै एकै ठाउँमा राखेर सूर्र्तीजन्य उत्पादन, मदिरा, खाद्यान्न, बिषादी, रासायनीक मल, लत्ता कपडा, भाँडा कुँडा लगायतका सामान बिक्री गर्ने गरेको समेत पाईएको घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख किशोर सापकोटाले वताउनुभयो ।

अनुगमन गरिएका फर्महरूमा तत्काल मूल्यसूची राख्न, पसलको नाम खुलाएर साइनबोर्ड राख्न, बिल लिन दिन, म्याद गुज्रिएका सामग्री नराख्न, अनुमति नभएका सामग्री बिक्री नगर्न, इजाजत लिएर मात्र कारोबार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १९ जेष्ठ बुधबार २१:१४ मा प्रकाशित