घर बसे बाली नासिने डर, बजार झरे कोरोनाले आंफ्नै ज्यानको छैन भर

998 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्युज

धादिङ, २० जेठ । कोरोनाको त्रास बढेपछि सरकारले भिडभाड नगर्न र सामाजिक दुरी कायम गर्न निर्देशन मात्रै दिएको छैन निषेधाज्ञा जारी गरी वजार, यातायात, बिद्यालय, सरकारी कार्यालय लगायत सबै तिर वन्द गरिदिएको छ ।

कोरोना संक्रमणका कारण सिंगो विश्व यति बेला संकटसंग जुधिरहेको छ । नेपाल पनि अहिले कोरोनाको दोश्रो लहरबाट प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण फैलन नदिन धादिङ लगायत देशैभरी अहिले निषेधाज्ञा जारी छ ।

सार्वजनिक स्थानमा भिडभाड हुन नदिन सुरक्षा निकायले कडाई गरिरहेको बेला बुधवार धादिङको सदरमुकाम धादिङबेसीमा देखिएको एउटा दृष्यले सबैलाई चकित पारिदिएको छ । कोरोनाको त्रासकै बिचमा सदरमुकाम धादिङबेसीको नीलकण्ठ सहकारीमा बुधवार सयौं व्यक्ति भिड लागेको थियो । ति मान्छे ज्यान जोखिममा राखेर भिडमा ठेलमठेल गर्दै उभिनुको कारण हो रासायनिक मल ।
किसानलाई यतिबेला कोरोना संक्रमित भईएला भन्ने चिन्ता भन्दा रासायनिक मल नपाईएला कि भन्ने चिन्ता छ ।

खेतबारीमा मल हाल्ने बेला भएको छ । वजारमा सहजै मल पाईदैन,धादिङबेसी स्थित नीलकण्ठ कृषि सहकारीले बुधबार रासायानिक मल वितरण गर्दै गरेको खबर पाएपछि गाउँ गाउँबाट किसानहरु मल लिन बिहानै  देखि लाइनमा बसेका थिए । किसानहरुको भिडभाडले कोरोना पनि डराएर भाग्यो कि भन्ने भएको थियो । ‘घरै बसौं मल नभएर वाली विग्रेला भन्ने डर ,वजार आउँ कोरोना लागेर मरिएला ‘ भन्ने त्रास छ किसानहरुलाई ।

हरेक बर्ष यहि वेला मलको अभाव हुने गर्दछ । किसानहरु एक बोरा मलका लागि घण्र्टौं सम्म भोक प्यास, त्रास सबै विर्सिएर लाइनमा उभिन बाध्य हुने गर्दछन ।

बुधबार करिब २ सय देखि ३ सय जना कृषकहरु मल लिन नीलकण्ठ सहकारी प्राङ्गणमा जम्मा भएका थिए । सहकारीले ल्याएको १ सय बोरा रासायनिक मल १ बोरा बराबर ५ जना कृषकलाई वितरण गरिएको थियो ।

सहकारीले किसानहरुले माग गरे अनुसार मल खरिद गरि ल्याउन नसक्दा किसानहरुको भिड बढ्न पुगेको हो । नीलकण्ठ सहकारीले सदरमुकाम आसपासका किसानलाई मल बिक्रि गर्दै आईरहेको छ ।

  • तस्बिर : कृष्ण शिसिरको फेसबुकबाट