रुबिभ्याली पहिरोमा वेपत्ता एकको शव भेटियो, एक अझै वेपत्ता

869 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङन्यूज

धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित हराईरहेका दुई जना मध्ये एक जनाको शव भेटिएको छ ।

धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा पहिरोले पुरिएर डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ बर्षका राजु पराजुली र डोजरका सहचालक धादिङकै रुबिभ्याली ५ का २० बर्षका जोजो तामाङ बेपत्ता भईरहेका थिए । शनिवार दिउँसो पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोमा पु्रिएकाहरुको शुक्रवार राती अवेर सम्म खोजी भएको थियो । राती खोजी गर्न नसकिएपछि शनिवार विहानैदेखि प्रहरी, स्थानीयवासी, गाउँपालिकाका प्रतिनिधि लगायतको टोलीले वेपत्ताहरुको खोजी गरेका थिए । सडक खन्न प्रयोग भईरहेको थप ३ वटा स्काभेटरको सहायताले पहिरो पन्छाउँदा टुक्रा टुक्रा भएको अवस्थामा स्काभेटर भेटिएको र सोही क्रममा चालक पराजुलीको शव भेटिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले वताउनुभयो । पहिरोमा ठूला ठूला ढुंगा खसेको कारण खोजी कार्यमा समस्या भएको पनि प्रहरी उपरिक्षक खड्काले जानकारी दिनुभयो ।

साविकको सेर्तुङ र तिप्लिङ गाविसको सिमानामा रहेको अताखोलामा सडक निर्माण कार्य भईरहेको बेला शुक्रवार साँझ एक्कासी ठूलो पहिरो खस्दा डोजर र दुई जना मान्छे पुरिएर हराईरहेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय दार्खा र सेर्तुङ प्रहरी चौकीबाट प्रहरीबाट परिचालन गरिएको छ ।

तस्बिर सौजन्य : किसकुमार तामाङ