पत्रकारिता मर्यादित र शिष्ट हुनुपर्छ –प्रेस काउन्सिल नेपाल अध्यक्ष बस्नेत

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ असार । प्रेस काउन्सिल नेपालको आयोजनामा शनिवार धादिङबेसीमा ‘कोभिडको कारण सञ्चार माध्यममा परेको समस्या,श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना अनिवार्य भएको बताउनुभएको छ ।

आचार संहिताको पालना नगरी समाचार सम्प्रेषण गर्र्दा समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाएको र नेपाली पत्रकारिता अविश्वासिलो बन्दै गएको अध्यक्ष बस्नेतको भनाई छ । कोभिडको कारण नेपाली पत्रकारहरुले भोग्नु परेको समस्या निकै चुनौतीपूर्ण रहेकाले जोखिमबाट बच्दै मर्यादित र संयमित पत्रकारितामा अग्रसर हुन अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा काउन्सिलका सदस्य दिपक पाण्डेले हतारोको पत्रकारिता फस्टाउँदै जानु र खोजी पत्रकारिता हराउँदै जानु चुनौतीका रुपमा देखा परेको भन्दै मिडियामा बढ्दै गएको छाडापन रोक्न पत्रकारिता जगतनै जागरुक बन्नु पर्नेमा जोड दिनुभयो । दर्ता नभई सञ्चालनमा रहेका अनलाइन व्यवस्थित गर्न त्यस्ता अनलाइनको बारेमा काउन्सिलले स्वअनुगमन गरिरहेको र कानूनी दायरामा नआउने, समाजलाई भ्रम फैलाउने, तथ्यहिन समाचार पोष्ट गर्ने कसैलाई पनि छुट नभएको सदस्य पाण्डेले वताउनुभयो ।

समाजमा परिवर्तनका सवाहक बनेर सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने पत्रकारहरू पछिल्लो समय खोजी पत्रकारितामा भन्दा चाकडी पत्रकारितामा आकर्षित हुंन थालेको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हरिहरसिंह राठौरको भनाई थियो । समाज, राष्ट्र र पेशा प्रतिको दायित्वलाई प्रत्येक सञ्चारकर्मीले बहन गर्नुपर्ने राठौरको सुझाव थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका सदस्य केशव अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नबराज छत्कुली, लगायतले पत्रकारिता पेशाको गरिमा र महत्व अभिवृद्धिका लागि आचार संहिताको कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।
महासंघ धादिङ शाखाका उपाध्यक्ष सानुबाबु तिमिल्सिनाको अध्यक्षता र  उपाध्यक्ष सरिता श्रेष्ठले सञ्चालन गर्नुभएको  कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, बरिष्ठ प्रशासकीय अधिकृत एवम प्रवक्ता दिपक खनाल, उपप्रशासकीय अधिकृत एवम सूचना अधिकारी रामशरण बोहोराका साथै राष्ट्रिय सञ्चार माध्यमका धादिङ जिल्लाका प्रतिनिधि र जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका पत्रकार र मिडिया संचालकहरुको सहभागिता रहेको थियो ।

यसै बिच नेपाल पत्रकार महासंघ धादिङ शाखाले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई शनिवार धादिङबेसीमा सम्मान गरेको छ । शाखाको तर्फबाट अध्यक्ष बस्नेतलाई सम्मान पत्र दिएर कार्यकाल सफलताको कामना गरेको छ ।