लोकनाथ डल्लाकोटीकोे निधन,निजी क्षेत्रको आन्दोलनमा अपूरणिय क्षती

1513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ असार । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको उपचारको क्रममा आईतबार विहान निधन भएको छ ।डल्लाकोटीको निधनले धादिङ जिल्लाको निजी क्षेत्रको आन्दोलनमा अपूरणिय क्षती पुगेको छ ।

सुगरको बिरामी रहेका डल्लाकोटीलाई शनिवार विहान एक्कासी मुटुमा समस्या देखिएपछि तत्काल काठमाण्डौंको स्वयम्भु स्थित मनमोहन अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा आईतबार विहान डल्लाकोटीको निधन भएको हो । उहाँ ४५ बर्षको हुनुहुन्थ्यो ।

डल्लाकोटीको निधनले धादिङको निजी तथा सामाजिक क्षेत्रमा ठूलो क्षती पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य चन्द्रकान्त अधिकारीले वताउनु भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्रीले कार्य समितिका महासचिवको निधनको खबरले मर्माहत हुन पुगेको बताउनु भएको छ । महासचिवको असामयमिक निधनले संघलाई धेरै क्षती पुगेको भन्दै अध्यक्ष खत्रीले मृतआत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्नु भएको छ । यसै गरी उद्योग वाणिज्य संघ धादिङका पूर्वअध्यक्षहरु ध्रुववहादुर थापा, प्रभातकिरण सुवेदी, कल्पना अधिकारीले पनि डल्लाकोटीको निधनबाट निकै दुखित भएको वताएका छन् ।

डल्लाकोटीको निधनको खबर सुनेपछि धादिङ जिल्लाका सयौं व्यक्तिले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् । उहाँको निधन प्रति धादिङ उद्योग वाणिज्य संघ, नेकपा एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, नेकपा एमाले केन्द्रिय सदस्य खेम लोहनी,एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष भूमी त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, एमालेका नेता नेत्र पौडेल, नेपाली काँग्रेस धादिङका पूर्व जिल्ला सभापति रामनाथ अधिकारी लगायतका नेताले समबेदना व्यक्त गर्नुभएको छ ।

धादिङ जिल्लामा २०६० सालमा कलर ल्यावको सुरुवात गरेर व्यवसायमा प्रवेश गरेका डल्लाकोटी पछिल्लो समय गजुरीमा होटल व्यवसाय सञ्चालन गर्दै आईरहेका थिए । डल्लाकोटी राष्ट्रिय बाणिज्य संघको केन्द्रिय सदस्य एवम धादिङ जिल्ला समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

डल्लाकोटीको निधनको खबर सुनेपछि धादिङ र काठमाण्डौंमा रहेका उहाँका आफन्त,इष्टमित्र, शुभचिन्तकहरु मनमोहन अस्पतालमा पुगेर अन्तिम बिदाई गरेका थिए ।

धादिङको गजुरी गाविसको छेपाङमा पुख्र्यौली घर भएका डल्लाकोटी परिवार केही बर्ष देखि चितवन जिल्लाको राप्ती नगरपालिकाको गड्यौलीमा बस्दै आईरहेका छन् । डल्लाकोटीको शवको अन्त्येष्ठि पशुपति आर्यघाटमा गरिएको छ । स्वर्गिय डल्लाकोटीका श्रीमती र दुई छोरी छन् ।

धादिङ न्यूज डट कम परिवार डल्लाकोटीको निधन प्रति मर्माहत एवम स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि हार्दिक समवेदना प्रकट गर्दछ ।