गुन धेरै भएका मान्छे लोकनाथ

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

  • रमेश अधिकारी

”सफलता सहजतामा कति माथि पुग्यो भन्ने कुराले होइन थचारिएपछि पनि कति माथि उठ्यो भन्ने कुराले नाप्नु पर्छ” —यदि यो भनाइलाई आत्मसात गर्ने हो भने लोकनाथ डल्लाकोटी अनेकौं पटक थचारिएर उठेका एक सामाजिक पात्र हुन् । करीब १४ वर्षदेखि डल्लाकोटीसंगं कुनै न कुनै हिसाबले बस्उठ् भयो मेरो । चरम अभाव र दबाबलाई सहज बेहोर्दै सामाजिक उत्तरदायित्व बहन गर्नसक्ने उदाहरण हुन् लोकनाथ । मान्छे गुनैगुनले भरिपूर्ण हुनेभए भगवान्को महिमा हुने थिएन, उनी पनि मान्छे थिए — गुन धेरै भएका । आफू मैनबत्ती जस्तै भएर बिलाए, त्यही आलोकमा अरुले मूलबाटो पहिल्याए— छैनन् गेडी सबै टेढी झैं भयो प्रकारान्तरमा उनको जीवन ।

राजनीतिक निष्ठा र प्रजातान्त्रिक आचरण उनका थप विशेषता हुन् । आफ्नो विचार निर्धक्क राख्ने, अरुका विचार सुनेपछि सबभन्दा उपयुक्त जे हुन्छ त्यही गरौं भन्ने उदात्त भावना साच्चै अनुकरणीय थियो । आफ्ना असीम पीडालाई कहिल्यै बिस्कुन बनाएनन् बरु अरुलाई मलमपट्टी गरीरहे । बिरोध पनि शिष्ठतापूर्वक गर्ने क्या गजबको शैली थियो । सायद भगवान्लाई खाँचो थियो वहाँको र यौवनकालमै लुछेर लगे । वहाँले कसैसंग नखोलेको वेदनाका सन्दुकमा खै कति बहीहरु छन् ! दुई नावालक छोरीहरु खोकिलामा च्यापेर जानुकाजीले कसरी थेग्नुहोला ब्यवहार ? हाम्रो प्रार्थना छ, यी बेसहाराहरुको दैनिकी सहज हुन सकोस् ।

वहाँको अकल्पनीय असामयिक निधनले जिल्लाले एक अथक ब्यवसायी, धादिङ उद्योग वाणिज्य संघले एक उर्जावान् महासचिव र हामीले एक असल अभिभावक गुमाएका छौं । मृतात्माको चिर शान्तिको कामना, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

– (लेखक धादिङ उद्योग वाणिज्य संघमा पूर्णिमा ईआई /एआर कार्यक्रमको संयोजक हुनुहुन्छ।)