पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड संचालनमा

1240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-अविरल बर्षाका कारण ठाउँठाँउमा पहिरो खसेर राती देखि अबरुद्ध भएको पछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड बिहीबार दिउँसो देखि संचालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला नजिकै लेदो माटो सहितको पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको थियोे ।

बिहानैदेखि पहिरो हटाउने काम भईरहेको भएपनि अविरल बर्षाका कारण पहिरो खस्न नरोकिंदा समस्या भएको थियो । सडक कार्यालय र ट्राफिक प्रहरीको दुई वटा स्काभेटरको सहायताले सडकमा जमेको लेदो माटो सहितको पहिरो पन्छाएपछि दिउँसोबाट सवारी आवागमन खुलेको हो ।

यसैगरी माछा मार्नेक्रममा धादिङमा एक युवक त्रिशूली नदीमा हराइरहेका छन् । धादिङको बेनिघाटरोराङ ५, बिशालटरका २० बर्षका लक्ष्मण बिसुराल घर नजिकै त्रिशूली नदीमा पसेर माछा मार्दै गर्दा बिहिवार विहान बेपत्ता भएका हुन् ।

त्रिशूली नदीमा पानीको वहाब अत्याधिक बढेका कारण बिसुरालको खोजी कार्य समेत प्रभावित भएको छ । घटना लगत्तै स्थानीयवासी, आफन्त र प्रहरीको टोलीले उनको खोजी जारी राखेको इलाका प्रहरी कार्यालय बेनिघाट धादिङले जनाएको छ ।

त्यसै गरी जिल्लाकै ज्वालामुखी गाउँपालिका ६, पोखरेपानीमा बिहिवार सिवहान पहिरोले स्थानीय जुनाराम मगरको गोठ पुरिएको छ । पहिरोले गोठ पुरिदा एउटा भैंसी, ९ ओटा बाख्रा, ९५ ओटा कुखुरा पनि पुरिएको प्रहरीले जनाएको छ ।

यसै बिच त्रिशूली नदीमा बुधवार देखि हरारहेको ट्रक अझै भेटिएको छैन । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा बुधवार ट्रक त्रिशूली नदीमा खसेको थियो ।

वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक बुधबार विहान त्रिशूलीनदीमा खसेको हो । प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन हुन सकेको छैन । चालक पनि हराईरहेका छन् ।

ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।वीरगन्जबाट काठमाडौंका कपडा लिएर जँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ ।