राजधानीमा सार्वजनिक सवारी साधन चल्ने बाहिरी जिल्लाबाट जाने सवारी साधनले अनुमति लिएर काठमाडौँ भित्र प्रवेश पाउने

978 पटक पढिएको

२० असार २०७८, आईतवार २२:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । गएको बैशाख १६ गते देखि बन्द हुन पुगेको राजधानीमा सार्वजनिक सवारी साधन अब चल्ने भएको छ । काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर(बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएपछि सार्वजनिक सवारी साधन चल्ने बाटो खुलेको हो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको असार २० गते आइतबार बसेको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाएको हो ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार अब बाहिरी जिल्लाबाट जाने सवारी साधनले अनुमति लिएर काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न पनि पाउनेछन । उपत्यका प्रवेश गर्न चाहने सवारी साधनहरुले जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति भने लिनुपर्नेछ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।