महादेबबेसीबाट चोरी भएर हराएको कार दाङको तुलसीपुरमा भेटियो

974 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज संवाददाता

धादिङ-  एक साता अघि धादिङको महादेबबेसीमा रोकिराखेको ठाउँबाट हराएको बा १६ च ८७३५ नम्बरको कार दाङको तुलसीपुरमा भेटिएको छ । चोरी भएको कारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

एक साता अघि महादेबबेसीका दिनेश रुपाखेतीको कार घरबाटै चोरी भएको थियो । हराएको कारको खोजी भईरहेको भएपनि फेला पार्न सकिएको थिएन । मंगलबार तुलसीपुरमा फेला परेको कार धादिङबाट चोरी भएर हराएको कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । रिजालकाअनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीलाई उक्त कारसहित नियन्त्रणमा लिइएको हो।

त्यस्तै प्रहरीले उक्त कार धनीलाई आवश्यक कागजपत्र लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आउन समेत आग्रह गरेको छ । कार भेटिएको खबर आउनासाथ रुपाखेतीले खोजी कार्यमा साथ दिने, चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।