‘लालबहादुरले लुटे,कारवाही होस ‘ भन्दै जिल्ला प्रहरीमा उजुरी

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ असार  – धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर २ का मजदुरहरुले आंफुहरु ठगिमा परेको भन्दै दोषि माथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका छन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत काम गरेर पाएको ज्याला लुटिएको भन्दै २७ जना मजदुरले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाका ४७ जना सहभागिहरु मध्ये २७ जनाले ज्याला वापत पाएको रकम भुक्तानी लिएको बेला लुटिएको भन्दै लुटपाट्मा संलग्न माथि कारवाहीको माग गरेका हुन ।

आफूहरुले मजदुरी गरेर ज्यालाबापत पाएको रकम गाउँका लालबहादुर कार्कीले जबरजस्ती खोसेर लगेको पीडितहरुले उजुरीमा उल्लेख गरेका छन् ।
काम गरेर ज्याला बुझ्ने बेलामा मजदुरहरुसंग ७ हजार देखि २२ हजार रुपैयाँ सम्म असुल गरेकोले आफूहरुमाथि अन्याय भएको भन्दै न्याय माग्न आंफुहरु गाउँपालिका गएकोमा कुनै सहयोग नभएपछि जिल्ला प्रहरी कार्यालयमा आएको पीडितहरुले वताएका छन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत काम गरेका मजदुरलाई भुक्तानीका लागि असार १७ गते गाउँपालिका कार्यालय रहेको साँध भन्ज्याङमा रहेको मेघा बैँकमा आएको बेला मजदुरहरु लुटिएका हुन् ।

गाउँपालिकाले दिएको चेक साटेपछि बैक परिसर नजिकैबाट कार्कीले सबैसंग जवरजस्त पैसा असुलेको स्थानीयले वताए ।
केही मजदुरले रकम दिन नमानेपछि विवाद भइ सोही दिन पीडित मजदुरहरुले गाउँपालिका कार्यालयमा उजुरी समेत गरेका थिए । पालिकामा गरिएको उजुरी पछि पीडितहरुलाई ज्यान मार्ने समेतको धम्की आएको र आफूहरुले सुरक्षाको लागि सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय आएको रमा श्रेष्ठले बताउनुभयो ।

कार्यपालिका सदस्य ज्ञानु परियारले पीडितहरुले न्याय पाउनु पर्छ भनेर हिडेका कारण आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । प्रधानमन्त्री स्वरोजगार कार्याक्रममा सहभागिहरुले १ सय दिन काम गर्ने र सो बापत सबै मजदुरलाई दिनको ५ सय १७ का दरले हिसाव गरि रकम उपलब्ध गराउने निति सरकारको रहेको छ ।

रकम लिएर बैक बाहिर जान लागेको बेला आफूहरुसंग लालबहादुरले पैसा लिएकोले कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।