महादेवबेशीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको ज्यान गयो

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २९ असार – धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेशी स्थित पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको ज्यान गएको छ ।

काठमाण्डौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले मंगलबार दिउँसो १२ वजे तिर बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका १३ का ३५ वर्षिय नारायण शिवभक्ती र उनका छोरा १० बर्षिय आर्यन शिवभक्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । बाबुको उपचारको क्रममा काठमाडाको महावौद्ध स्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमानै ज्यान गएको हो । मोटरसाईकल काठमाण्डौंबाट धादिङको नौविसे गल्छी हुंदै नुवाकोटको विदुर तर्फ जांदै गरेको थियो ।


दुर्घटनामा परि मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षिय जीवन घर्ती घाइते भएका छन् । घाइते जिवनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

मोटरसाइकल ठक्कर दिने ट्रकलाई सिम्ले प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।दुर्घटनापछि आक्रोशित हुन पुगेको स्थानीयवासिन्दाले केही बेर पृथ्वीराजमार्गमा प्रदर्शन गर्दै सवारी आवागमन रोकेका थिए ।