सैनिक हवल्दार गुरुङको हत्याको आरोपमा चितवनबाट एकजना पक्राउ

978 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गोली लागेको अवस्थामा मृत भेटिएका सैनिक हवल्दार धादिङ नीलकण्ठ नगरपालिका–१३ का भरत गुरुङको हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्ति तथा थप विवरण भने खुलाएको छैन । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ बिहीबार बिहान चितवनको भरतपुर नगरपालिका १७ बनगाई डेरीचोक, सिमलडाँडा घोलमा मृत भेटिएका थिए ।गुरुङ जग्गा सम्बन्धी कारोबारका लागि केही दिन अघिदेखि चितवनको शारदानगरमा आफन्तको घरमा बस्दै आईरहेका थिए ।

चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १३ घर भएका गुरुङ सेनाको हवल्दार हुन् । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको थियो । दाहिने कान र देब्रे कानमा चोट देखिएका गुरुङको गोली हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएकाले घटनाको रहस्य छिट्टै बाहिर आउने चितवन प्रहरीले जनाएको छ ।