धादिङका नागरिकले पूर्ण निशुल्क रगत पाउने

1104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-कुनै पनि विरामी परेर होस या घटना दुर्घटनामा परि घाईते भई उपचारका लागि अस्पतालमा भर्ना भएका धादिङ जिल्लाका नागरिकका लागि रगत पूर्ण निशुल्क उपलव्ध गराउने बिषयमा धादिङ जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

रगत निशुल्क पाउनका लागि नागरिकले पनि केही शर्त भने पुरा गर्नु पर्नेछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको पहलमा धादिङ र छिमेकी जिल्ला काठमाण्डौं उपत्यकाको तीन वटै जिल्ला, नुवाकोट,चितवन र कास्की जिल्लाका अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई उपचारका अवधिमा चाहिने रगत तथा रक्ततत्व निशुल्क उपलव्ध गराउन लागिएको रेडक्रस धादिङले जनाएको छ । आफ्नो पालिकाका नागरिकलाई आवश्यक पर्दा रगत निःशुल्क प्रदान गर्ने गरी नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले विभिन्न स्थानीय तहसँग सम्झौता गरेको छ ।रेडक्रसको यो अभियानलाई जिल्लाका १३ मध्ये दश वटा पालिकाले लिखित सम्झौता गरि रेडक्रसलाई रकम समेत उपलव्ध गराईसकेका छन् । बाँकी रहेका ३ वटा पालिकाले पनि छिट्टै यस अभियानमा समावेश हुने प्रतिवद्धता जनाएका छन् ।


यस अभियान अन्र्तगत कुनै पनि स्थानीय तहका नागरिकले अस्पतालमा उपचारका क्रममा रगत तथा रक्ततत्व आवश्यक पर्दा सम्वन्धित अस्पतालका चिकित्सकको सिफारिस लिएर नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रक्त संचार केन्द्रहरुमा धादिङ जिल्लाको वासिन्दा भएको स्पष्ट पहिचान खुल्ने कुनै सरकारी परिचय पत्र वा स्थानीय तहको सिफारिस मध्ये कुनै एक कागजात सहित सम्पर्क गरेपछि आवश्यक रगत निशुल्क उपलव्ध गराउने नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिनाले वताउनुभयो ।

नागरिकको जिवन सुरक्षाका लागि धादिङका स्थानीय तहहरुले रेडक्रसको यस अभियानप्रति प्रतिबद्धता जनाउँदै एक लाख देखि दश लाख रुपैयाँ सम्म उपलव्ध गराएका छन । सहयोग रकमलाई निरन्तरता दिने गरि लिखित प्रतिबद्धता जनाएका छन् । यसैक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले मंगलबार ५५ औं रक्तसंचार सेवा दिवशको अवसर पारेर पुणर् निशुल्क रगत तथा रक्ततत्व उपलब्धता सम्बन्धि स्थानीयतह र सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगनाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रमको विशेष अतिथिमा नीलकण्ठ नगरपालिकाको प्रमुख भिमप्रसाद ढुंगाना,नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका सदस्य मोहन पोखरेलको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्य,बेनिघाटरोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिल्वाल,धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल,खनियावास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपाली, ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ नेपाल पत्रकार महासंघ,गैसस महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैगरी रेडक्रस जिल्ला शाखाका पूर्व सभापति एवम सल्लाहकारहरु माणिकलाल श्रेष्ठ,अमृत अधिकारी, इश्वरीप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नीलकण्ठ मा.वि.का युवा रेडक्रस सर्कलका विद्याथर्िहरुहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वपय समितिका प्रमुख नेपालले जिल्लाकासबै स्थानिय तहहरुले अनिवार्य रुपमा रेडक्रस संग सम्झौता गरी आवश्यक रकम विनियोजन गरेर आपत विपतमा परेका तथा अन्य कारणले विरामी भएका नागरिकहरुलाई उपचारका लागि चाहिने रगत निःशुल्क उपलव्ध गराउने कार्यमा लाग्न आग्रह गर्नु भयो । रेडक्रसले अघि सारेको यो अभियान मानवीय सेवा भित्रको अति सराहनीय कार्य भएकाले धादिङ जिल्लालाईनै पुणर् निशुल्क रगत पाउने जिल्ला बनाउने तर्फ सबै स्थानीय तह र सरोकारवालाहरु एक भएर अघि बढ्न समेत उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रमका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले रगत र रक्ततत्व निर्माण सहित रक्तसंचार केन्द्रलाई व्यवस्थित गर्न आवश्यक कार्ययोजना र बजेट सहित प्रस्ताव तयार पार्न रेडक्रसलाई आग्रह गरेका छन् । सबै स्थानीय तहहरुको सामुहिक प्रतिवद्धता सहित सम्झौता गरी सम्पुणर् नागरिकहरुलाई आवश्यक रगत उपलब्ध गराउन चाहिने बजेट व्यवस्थापन गर्न सकिने र सोको लागि नगरपालिका तयार रहेको प्रमुख ढुंगानाले कार्यक्रममा बताउनु भयो ।

त्यसै गरी कार्यक्रमलाई सम्वोधन गर्दै रेडक्रसका केन्द्रिय सदस्य पोखरेलले धादिङ जिल्ला देशको राजधानीलाई जोड्ने मुख्य सडक मार्ग भएको जिल्ला भएर पनि राजमार्ग क्षेत्रमा आकस्मिक उपचारका लागि व्यवस्थित अस्पताल नभएकोमा गुनासो गरेका छन् । राजधानीको आडैमा रहेरपनि व्यवस्थित स्वास्थ्य संस्था नहुँदा कुनै पनि घटना दुर्घटना र अन्य आकस्मिक विरामीलाई उपचार गर्न काठमाण्डौं र अन्य जिल्ला लैजानु पर्ने अबस्थालाई न्यूनिकरण गर्न स्थानीय तहले पहल गर्नु पर्ने र त्यस्को संयोजन समन्वय समितिले जिम्मा लिनुपर्नेमा पोखरेलले जोड दिनु भयो ।

कार्यक्रममा सहभागिहरुको तर्फबाट स्थानीय तहका प्रतिनिधिहरुले नियमित रक्तदानको कार्ययोजना बनाई सहकारी,बैंक तथा वित्तियसंस्था,विभिन्न समुह,विद्यालय,सरकारी कार्यालयहरु एंव सम्पुणर् स्वयंसेवि रक्तदाताहरुलाई अभिमुखीकरण गरी वार्षिक ५ हजार पिन्ट रगत संकलन गर्न समेत पोखरेलले अनुरोध गर्नु भएको थियो ।