अनुमतिविनै धादिङमा खुल्न थाले विद्यालय बिद्यालय खोलेर पठन पाठन नगर्न स्थानीय प्रशासनको निर्देशन

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-ः कोरोना संक्रमणको जोखिमका बीचमा धादिङका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि अधिकांश स्थानीय तहले कुनै प्रतिकृया समेत दिएका छैनन भने प्रशासनको निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका छन् ।

धादिङ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै गईइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् ।

कतिपय विद्यालयका प्रधानाध्यापकले भने आंफुहरु दोहोरो मारमा परेको प्रतिकृया दिएका छन् । बिद्यालय नखोले स्थानीय तहले दवाव दिने, बिद्यालय खोल्दा प्रशासनले वन्द गर्ने निर्देशन दिने अब कस्को कुरा मान्ने आँफुहरु अन्यौलमा परेको उनीहरुको भनाई छ ।

लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेको भन्दै अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको शिक्षकहरुको दावी छ ।

सदरमुकाम धादिङबेसीमा रहेको अधिकांश संस्थागत तथा सामुदायिक बिद्यालयहरु पनि खुलेका छन् ।
नीलकण्ठ नगरपालिका भित्रका विद्यालयले  विद्यालय खुलाएर पठनपाठन शुरु गरेका छन् ।

नीलकण्ठ नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति मेघनाथ कोईरालालले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको जानकारी आएको बताउनुभयो । ‘विद्यालय खोल्यौं भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराउनुभएको छ, तर हामीले खोल्ने अनुमति दिएका छैनौं,’ कोईरालाले भन्नुभयोे, ‘कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौं ।’ उहाँले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पनि साउन २० गतेसम्म धादिङमा निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताउनुभयो । ‘केही विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दिएका छौं ं,’ उहाँले भन्नुभयो । तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न पाईने प्रजिअ ढकालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय धादिङको निर्देशन पछि सिद्धलेक गाउँपालिका कार्यालयले भौतिक उपस्थितीमा बिद्यालय नखोल्न पालिका भित्रका सबै वडा कार्यालय र बिद्यालयहरुलाई परिपत्र जारी गरेको छ । वेनिघाटरोराङ गाउँपालिकाको मझिमटारमा रहेको शंखादेवी माविले पनि सूचना प्रकाशित गरी भौतिक उपस्थितीमा हुने बिद्यालयमा पठन पाठन स्थगित गरिएको सूचना जारी गरेको छ ।