धादिङ लगायत देशका अधिकांश भूभागमा बिहानैदेखि भारी वर्षा

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ भदौ १३– मनसुन सक्रिय हुँदा अहिले धादिङ लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज भारी वर्षासँगै नारायणी र यसका सहायक नदी तथा कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीमा बहाब बढ्ने पूर्वानुमान छ।