एमाले महाधिवेशनमा १९ सय ९९ प्रतिनिधिले भाग लिने

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मंसिरमा हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १९ सय ९९ हुने भएको छ । बिहीबार बसेको एमालेको स्थायी कमिटी बैठकले यस अघि निर्धारण गरिएको १५ सय ३६ जनाबाट ४ सय जना थप गरेर महाधिवेशन प्रतिनिधि संख्या १९ सय ९९ कायम गर्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिनु भएको जानकारी अनुसार बढेका ४ सय प्रतिनिधि भूगोलबाट आउने छन् । प्रवक्ता ज्ञवालीका अनुसार, ‘शुक्रवार बसेको बैठकमा प्रतिनिधित्व बढाउन सुझाव आएको थियो । त्यही सुझाव अनुसार अब प्रतिनिधिको संख्या १९ सय ९९ हुनेछ ।’ प्रवक्ता ज्ञवालीले महाधिवेशन प्रतिनिधिको संख्या करिब ४ सय बढेको जानकारी दिनुभयो । यस्तै, एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना नेता थपेर २३ सदस्यीय बनाइएको छ । रामबहादुर थापा बादल नेतृत्वको व्यवस्थापन समितिमा स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई थपिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनमा प्रतिनिधित्वको प्रावधान
केन्द्रीय कमिटी -१९६
केन्द्रीय अनुशासन आयोग- १५
लेखा परीक्षण आयोग -१५
केन्द्रीय निर्वाचन आयोग -१५
केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि
भुगोलबाट
हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तिमा एक जना महिला र दुईजना खुला गरेर तीन जना , हरेक निर्वाचन क्षेत्रबाट तीन जना
त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेगरी भुगोलबाट चयन हुने ११९६ जना
पदेन २६३ जना र यसको ५ प्रतिशतले हुने मनोनयन गरेर १५३६ जना प्रतिनिधि चयन हुने ।
प्रतिनिधिहरुमा समावेशीको निती अबलम्बन गरिएकोले ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति, थारु, मधेसी ,मुस्लिम, दलित पिछडिएको क्षेत्रसहित ४९ प्रतिशत खुलाबाट चयन हुने बताईएको छ ।
त्यसै गरी हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि,
हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछन भने
हरेक जनसंगठनबाट ५÷५ जनाले प्रतिनिधित्व गर्नेछन् ।
केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।
प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने भएको छ ।