परम्परा जोगाउँदै धादिङ त्रिपुरासुन्दरीका महिला

788 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

( त्रिपुरासुन्दरी) धादिङ– मेला पर्म सहकार्य नेपाली समाजको पुरानो चलन हो । तर केही बर्ष यता गाउँमा जनशक्ति नहुंदा कृषि तथा अन्य काममा मेलापर्म लाग्ने चलन हराउँदै जान थालेको छ ।

नेपाली समाजको पहिचाननै बनेको मेलापर्म अब हराउँदै जान थालेको छ । हरेक काममा ज्यालादारी मजदुर खोज्नु पर्ने भएपछि गाउँघरमा खेती किसानी गर्ने निम्नवर्गका व्यक्तिहरु ऋण काढेर खेतीवाली लगाउन वाध्य छन् । जनशक्तीको अभावले भनेको बेला ज्यालामा काम गर्ने मानिस समेत पाउन मुस्किल हुन थालेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का महिलाहरुले सामूहिक कामको थालनी गरेर उदाहरणीय बनेका छन् । धान काट्ने, कोदो टिप्ने, बारी खन्नेजस्ता काममा समूहका सबै सदस्यहरुले एक अर्काको काम गरेर उक्त अभियान सुरु गरेका हुन् ।

कन्यादेवी स्वावलम्बी समूहमा आवद्ध सदस्यहरुले खेतालाको समस्या समाधान गर्न गरिब र एकजना मात्रै काम गर्ने मानिस भएका परिवारका लागि सामूहिक काम गरेर सहयोग गरेको समूहका अध्यक्ष सुनिता श्रेष्ठले बताउनुभयो । समूहमा रहेका २७ जनाले पालो गरेर सामूहिक काम गर्दा सबैका समस्या समाधान गर्न सहज भएको बताइएको छ ।

हेफर नेपाल र त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा सहयात्री समाज नेपालद्वारा कृषि तथा पशुउद्यमशिलता विकास परियोजना अन्तरगत रहेको कन्यादेवी स्वाबलम्बी समूहले सामूहिक काम सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएका र खेताला लगाउन नसक्नेहरुका लागि सामूहिक काम गर्ने तरिकाले गर्दा खेताला लगाउन नसकेर खेती गरिएको उत्पादन भित्र्याउन समेत नसक्ने अवस्था हुने गरेको थियो । सामूहिक काम थालेपछि समूहका सबैले काम गर्ने र श्रमको सम्मान भएको समूहका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पर्मेली परम्परा संकटमा पर्ने अवस्था आउन नदिन त्रिपुरासुन्दरीका महिलाहरुले शुरु गरेको सामूहिक पर्म कार्यहरु अरुका लागि पनि उदाहरणीय बन्ने निश्चित छ ।