मतदाता नामावली सङ्कलन स्थानीय तहको केन्द्रमा पनि हुने

833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– निर्वाचन आयोगले स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु गर्ने भएको छ ।

आयोगले यही मङ्सिर १७ गतेदेखि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली सङ्कलनलाई निरन्तरता दिँदै थप ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा सुरु गर्न लागेको जनाएको छ । मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाण्डौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने छ ।

सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउन मङ्सिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकको समेत मतदाता नामावली सङ्कलन कार्य सुरु गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा (पौडेल) द्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको ले आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनी आयोगले सो अभियान सञ्चालन गर्न लागेको हो ।

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिब दुई हजार ३०० कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । विसं २०७८ पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन कार्य सम्पन्न भइसक्नेछ । विसं २०७७ पुस ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट २०७७ साल चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम देशभर एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम रहेकामा यस कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

  •  पालिका खबरबाट