‘घर फुटाउनेकोे बिश्वास नगरौं’ – सांसद डाक्टर रामकुमार अधिकारी

736 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ मंसिर । केही अवसरवादीहरुले छाडेर जाँदैमा नेकपा एमाले कमजोर भयो कि भनेर नसोच्न पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई नेकपा एमालेका वागमती प्रदेश कमिटीका सदस्य एवम वागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारीले आग्रह गर्नु भएको छ । बसिरहेको सग्लो घर फुटाएर हिंड्नेको कुनैपनि कुराको बिश्वास र भरोसा गर्न नहुने  डाक्टर  अधिकारीले बताउनु भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२, १३ मा एमाले पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सांसद अधिकारीले एमाले पार्टी फुटाएर गएकाहरु अहिले गाउँ गाउँमा योजना र वजेटको लोभ देखाएर संगठन निर्माण गर्न लागि परेको बताउनुभयो ।
आफ्नो पार्टीलाई क्षती पु¥याएर अरुको पछि लाग्दै जनतालाई लोभ लालच देखाउन लागेकाले त्यस्ता व्यक्तिहरुको पछि नलाग्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई डाक्टर अधिकारीले आग्रह गर्नु भएको हो ।
पार्टीको वडा कमिटीलाई शशक्त र व्यबस्थित ढंगबाट संचालन गर्न नीलकण्ठ नरपालिकाको सबै वडामा कार्यालय स्थापना गरी सचालनमा ल्याउने योजनाअनुसार मंसिर २५ गते शनिवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी वडा कार्यालयहरु उद्घाटन गरिएका हुन ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५, १२ र १३ मा पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रममा सांसद एवम एमाले वागमती प्रदेश कमिटीका सदस्य डाक्टर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । १२ नम्बरको रिजालडाँडामा भएको वडा कार्यलय उद्घाटन कार्यक्रममा डाक्टर अधिकारीका साथै प्रदेश कमिटीका सदस्य इश्वरी अधिकारी, जिल्ला कमिटी सदस्य छविलाल श्रेष्ठ, नगरकमिटीका उपाध्यक्ष दयाराम लम्साल, क्षेत्रीय कमिटीका पुर्व सचिव हरि घिमिरे लगायतको आतिथ्य रहेको थियो । त्यसै गरी १३ नम्बरको बोसीडाँडामा भएको वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पनि डाक्टर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
यसै गरी ५ नम्बर वडाको कार्यालय उद्घाटन कार्यक्रम पनि सांसद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा नगर कमिटीका अध्यक्ष हरिकुमार श्रेष्ठ, उपाध्यक्ष दयाराम लम्साल लगायतको आतिथ्य रहेको थियो ।