नेकपा (एमाले) धादिङको आठौं जिल्ला अधिवेशनको तयारी पुरा

806 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पौष २३ गते शुक्रवार देखि शुरु हुने नेकपा (एमाले) धादिङको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा पौष २३ गतेदेखि शुरु हुने नेकपा (एमाले) धादिङको आठौं  जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूर्ण काम सम्पन्न भएको नेकपा एमाले धादिङ प्रचार विभागले विहिबार धादिङबेसीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
अधिवेशनबाट आगामी ३ बर्षका लागि जिल्ला कमिटीमा पाँच जना पदाधिकारी र १०० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना तथा उपसचिव दुई जना रहने छन् ।  सदस्य भने भौगोलिक, खुल्ला र आरक्षण समूहबाट निर्वाचित हुने छन् । एमालेमा सहमतिमा नयाँ नेतृत्व सहित जिल्ला कमिटी चयन हुने सम्भावना अधिक छ ।

  अधिवेशनमा भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु गरी कूल ७०१ जना प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाका १३ वटा स्थानीय तहका १०४ वडाहरु,  सम्पर्क मञ्च तथा जिल्ला स्थित भातृ संगठनका तर्फबाट प्रतिनिधिहरु चयन भएका हुन् ।आयोजक कमिटी ६९, जिल्लाभरका पालिकातहबाट छनौट भई आएका ५४५, सल्लाहकार परिषदबाट १५, जनवर्गिय संगठनहरुबाट ३९ र जिल्ला कमिटीबाट मनोनित समेत गरि कुल ७०१ जना प्रतिनिधि सहभागी हुने नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

शुक्रवार बाट शुरु हुने आठौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको प्रमुख आतिथ्य रहने भएको छ । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेल लगायतको आतिथ्य रहने बताईएको छ ।शुक्रबार अपरान्ह ११ वजे अधिबेशनको उदघाटन हुने र उद्घाटन सत्र सम्पन्न भएपश्चात बन्द सत्र समेत सुरुआत हुनेछ । अधिबेशनमा आउने सहभागीहरुको स्वागतका लागि एमाले चोकबाट पाटी कार्यालय सम्मको सडकमा ध्वजा पतका राखेर सिंगार्ने काम भएको छ ।