नेकपा एमाले धादिङको जिल्ला सचिवमा अर्जुन, नरेश,राधिका र हरिरामको दाबी सर्वसम्मतबाट जिम्मेवारी पाउने उम्मेदवारहरुको बिश्वास

896 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा जिल्ला कमिटीको सचिवमा अहिलेसम्म ३ जनाको दावेदारी परेको छ । युवा नेता  नरेश खतिवडा , हरिराम लोहनी र राधिका सापकोटाका साथै अहिलेका सचिव अर्जुन गोर्खाली  सचिब पदको आकांक्षी बन्नुभएको छ । यहि पौष २३ र २४ गते धादिङबेसीमा हुन गईरहेको जिल्ला अधिवेशनमा  सचिव पदमा उमेदवारी दिन लागेको उहाँहरुले   धादिङ न्यूजलाई वताउनु भएको छ ।


२०३६ सालको जनमत संग्रहका बेला बहुदल समर्थक वामपन्थीहरुको संगतबाट कम्युनिष्ट पार्टी प्रति नजिक भई २०४२ सालमा तत्कालिन नेकपा मालेको बिद्यार्थी संगठनमा संगठित भई पार्टी गतिविधिमा सहभागी भएको खतिवडाले बताउनु भयो । २०४४ साल देखि तत्कालिन मालेमा आवद्ध भएर गाउँ, इलाका हुंदै एमालेको छैटौं जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको सदस्य, सातौंमा पुनः जिल्ला कमिटीको सदस्यमा निरन्तरता दिंदै आठौं अधिवेशनमा सचिव पदको आकांक्षी भई उम्मेदवारी दिन लागेको खतिवडाले वताउनु भयो ।

अनेरास्ववियुबाट राजनीति सुरु गरि पार्टीको विभिन्न तहमा काम गर्दै , प्रजातन्त्र बहालीका साथै लोकतान्त्रिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट दमन खेप्दै गिरफ्तार भई थुनामा परेको उहाँको दावी छ । खतिवडा संकटकालिन अबस्थामा पार्टीको खम्बाका रुपमा उभिने खरो  व्यक्तिका रुपमा समेत चिनिनुुहुन्छ । उहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको कट्टर सर्मथकका रुपमा मानिनुहुन्छ ।

एमालेको सचिव पदमा आंफुले जिम्मेवारी पाएमा पार्टीको संगठन र गतिविधिलाई चुस्त र सक्रिय बनाई नेकपा एमालेलाई धादिङको पहिलो र बलियो पार्टी बनाउन आंफु लाग्ने खतिवडाले बताउनु भयो । एमाले धादिङको सचिव पदमा अर्का युवा नेता हरिराम लोहनीले पनि दावेदारी प्रस्तुत गर्नु भएको छ भने अहिलेका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले पनि सचिव पदमा निरन्तरता दिन चाहेको बताउनु भएको छ ।यसै गरी सचिव पदका अर्का दावेदार लोहनीले पनि एमालेको जिल्ला कमिटीमा दुई कार्यकाल पुरा गरिसक्नु भएको छ । पार्टीको बिद्यार्थी, युवा हुंदै गाउँ , इलाका र जिल्ला कमिटीमा काम गरिसक्नु भएका लोहनीले पनि अब जिल्ला सचिव भएर पार्टीको जिम्मेवारी बहन गर्न चाहेको बताउनु भएको छ ।

सचिव पदका दाबेदार सापकोटा २०५४ सालमा अनेरास्ववियुबाट राजनैतिक जिवनमा प्रबेश गरि अनेरास्ववियुको बागमती महिला बिभाग सदस्य हुँदै २०६६ देखि नेकपा एमाले धादिङको जिल्ला कमिटी सदस्यको रुपमा कामगरिरहेको अनुभवले आफू सचिब  पदमा उम्मेदवार बन्न लागेको सापकोटाले बताउनु भयो । अहिलेका अध्यक्ष भूमी त्रिपाठीले निरन्तरता पाउने निश्चित जस्तै भएको छ भने पदाधिकारीका अन्य पद र सदस्यहरुमा भने धेरैको आकांक्षा देखिएको छ । उपाध्यक्षमा अहिले सम्म धनबहादुर घले, शम्भु थापा र उमेश थापाको चर्चा भएको छ भने सचिव पदमा निरन्तरता नहुने भएमा अर्जुन गोर्खालीले पनि उपाध्यक्ष पद नछाड्ने बताएका छन् ।