नेकपा एमाले धादिङको आठौं जिल्ला अधिवेशन धादिङबेसीमा जारी

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- नयाँ नेत्तृत्व चयनका लागि नेकपा एमाले धादिङको आठौं जिल्ला अधिवेशन धादिङबेसीमा शुरु भएको छ । अधिबेशनले आगामी तीन बर्षका लागि पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटीको चयन गर्नेछ ।पार्टीको संशोधित विधान अनुसार जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना र उपसचिव दुई जना रहनेछन् । यसै गरी दुईवटा संघीय निर्वाचन क्षेत्रबाट महिला १० र खुल्लाबाट २० गरी ३० जना, जनजाती महिला ४ र खुल्ला ८ जना गरी १२ जना, उत्पिडित दलितबाट महिला ३ र खुल्ला ६ जना गरी ९ जना, अल्पसंख्यकबाट २ जना,फरक क्षमता तथा अपाङ्गता भएकाबाट २ जना, खुल्ला महिला मात्र १८ जना र अन्य खुल्ला २७ जना गरि १०० जना जिल्ला कमिटीको सदस्यमा चयन हुनेछन् ।
अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत नहुने संकेत देखिएको छ । अध्यक्ष पदमा भूमी त्रिपाठीले निरन्तरता पाउने भएका छन् । उपाध्यक्ष, सचिव र उपसचिव पदका लागि धेरैले आकांक्षा राखेका छन् । एमालेले जिल्ला अध्यक्षसहित पदाधिकारी हुन लाई दुई कार्यकाल जिल्ला कमिटीमा रहेको या एक कार्यकाल सचिवालयमा रहेर काम गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
जिल्ला सदस्य हुनको लागि एक कार्यकाल जिल्ला विभाग या एक तहको मुनिको कमिटीमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ । तर, अन्य पार्टीबाट एकीकरणमार्फत आएकाहरूको हकमा भने सो समय सीमा लागू हुने छैन ।
दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि ७०१ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् ।

पौष २३ गते शुक्रवार मदन आश्रित स्मृती भवनमा शुरु भएको आठौं जिल्ला अधिबेशनको एमालेका स्थायी समिति सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष प्राडा पुष्पराज कँडेलले उद्घाटन गर्नु भएको थियो । भूमी त्रिपाठीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेल, एमाले धादिङका संस्थापक सदस्य जगन्नाथ नेपाल, संविधान सभा सदस्य धनबहादुर घले लगायतले सम्वोधन गर्नु भएको थियो ।

उद्घाटन कायक्रम पश्चात शुरु भएको बन्द सत्रको कार्यक्रम एमाले स्थायी समिति सदस्य प्राडा पुष्पराज कँडेलको अध्यक्षतामा शुरु भएको छ । वन्द सत्रमा अध्यक्ष भूमी त्रिपाठीले राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभागका प्रमुख देवप्रसाद त्रिपाठीले प्रस्तुत गर्नुभएको पार्टीको आय व्यय प्रतिवेदन संशोधन सहित वन्द सत्रबाट पारित भएको छ । शुक्रवार राती ८ वजे सम्म चलेर स्थगित भएको वन्द सत्रको कार्यक्रम शनिवार विहान ८ वजेबाट शुरु हुनेछ ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि देशभरका जिल्ला अधिवेशन गर्ने मिति निर्धारण गरेको थियो । त्यहीअनुरुप शुक्रबार धादिङमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ ।