नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी सर्बसम्मत

1042 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नेकपा एमाले धादिङको अध्यक्षमा भूमी त्रिपाठी निर्बिरोध निर्वाचित हुनुभएको छ । धादिङबेसिमा जारी आठौं अधिबेशनबाट त्रिपाठी सर्बसम्मत अध्यक्ष पदमा चयन हुनु भएको हो । अन्य पदमा भने आबस्यकता भन्दा धेरै उम्मेदवारी परेकाले निर्वाचन प्रक्रियाबाट टुंगो लगाईने भएको छ ।

२०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनुभएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालबाट नेकपा एमाले धादिङ जिल्ला अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । तत्कालिन पार्टी अध्यक्ष खेम लोहनी नेकपा एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएपछि त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो ।

धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मनु भएका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएको छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्षको जिम्मेवारी समेत त्रिपाठीले पाउनु भएको थियो ।
गत संघीय निर्वाचनमा धादिङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गर्दै ४९ हजार १ सय २१ मत ल्याएर त्रिपाठी सांसद पदमा विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अर्याललाई २१ हजार ९ सय ६८ मत प्राप्त प्राप्त भएको थियो ।
गजुरीको आदर्श माध्यमिक विद्यालयबाट २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियूमै बाटै नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनुभएको थियो ।
तीन दशक देखि कम्युनिष्ट राजनीतिमा सक्रिय  त्रिपाठी स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।