रुवीभ्यालीमा पहिरो, तीन जना बेपत्ता बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पनि पुरियो

792 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको रुवीभ्यालीमा सडक निर्माणका क्रममा खसेको पहिरोले स्काभेटर पुरिँदा ३ जना हराइरहेका छन् ।

धादिङको रुवीभ्याली– १ मा पर्ने तिप्लिङको पुरु गाउँमा बाटो खन्ने क्रममा पहिरो खस्दा चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी  उपरीक्षक  राकेश सिंहले बताउनुभयो ।

 प्रहरी  उपरीक्षक सिंहका अनुसार  खोज र उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ ।

रुवीभ्याली गाउँपालिकाको लब्दुङबाट लिङ्जो जोड्ने गरी निर्माण हुंदै गरेको सडकमा पहिरो खस्दा स्काभेटर समेत पुरिएको जानकारी आएपछि सेर्तुङस्थित प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी पठाइसकिएको र जिल्लाबाट थप टोली पठाउन  पहल भईरहेको प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

रुवीभ्याली जिल्लाकै अति विकटमा रहेको हिमाली क्षेत्र हो । सडक सञ्जाल नपुगेको यहाँका गाउँमा सडक पु¥याउन निर्माण काम भइरहेको छ । घटनास्थल सदरमुकाम धादिङबेसीबाट दुईदिनको पैदल दुरीमा पर्दछ ।

घटनास्थल अति विकटमा रहेकोले उद्धारमा कठिनाई भइरहेको र स्थानीयवासी र सेर्तुङबाट खटिएको प्रहरी टोलीले उद्धारको पहल गरिरहेको रुवीभ्याली–१ का वडाध्यक्ष मेन घलेले जानकारी दिनुभयो । घटनास्थलको मौसम प्रतिकुल रहेको र हिउँ परिरहेकाले उद्धारमा कठिनाई भइरहेको पनि अध्यक्ष घलेले वताउनुभयो ।

गएको असार ५ गते रुवीभ्याली गाउँपालिकाकै अताखोलामा पनि सडक खन्नेक्रममा पहिरो खसेर दुई जना वेपत्ता भएका थिए । घटना लगत्तै उद्धारका लागि प्रयास गरिए पनि अविरल वर्षाका कारण कठिनाई हुँदा दुवै जनाको ज्यान गएको थियो ।

  • ( गत असारमा रुवीभ्यालीको अताखोलामा सडक खन्ने क्रममा गएको पहिरोको तस्बिर)