धादिङका अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन

863 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङका अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । २०१८ साल बैशाख २९ गते  धादिङको मैदीमा जन्मिएका शाहको २०७८ चैत २ गते राती काठमाण्डौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समय पत्रकारितामा सक्रिय शाहले पत्रकारिता सम्वन्धि दर्जनौ पुरस्कार र सम्मान प्राप्त गरेका छन् । शाहको निधनले नेपाली संचार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको छ भने नेपाली साहित्य क्षेत्रमा पनि ठूलो क्षती पुगेको छ । शाह दुई बर्ष देखि परिवारसहित काठमाडौँमा बस्दै आइरहेका थिए ।

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सचिव शाहले २०३८ साल देखि पत्रकारिता शुरुवात गरेका थिए । २०३८ देखि २०४१ सम्म काठमाण्डौमा रहेर जन्मभूमी, योजना साप्ताहिकमा विभिन्न जिम्मेवारीमा रही पत्रकारिता गरेका शाहले २०४६ साल पछि घटना र बिचार साप्ताहिकको सम्पादक मण्डलको जिम्मेवारी सम्हालेका थिए ।

पत्रकारिता,साहित्य र राजनितिमा एकै साथ सक्रिय रहँदै आएका शाहले २०५४ – २०५५ सालमा रेडियो नेपालबाट गाउँघर कार्यक्रम संचालन गरेका थिए भने धादिङ फर्किएर हिमालय टाइम्स, स्पेशटाइम,गोरखापत्र,कान्तिपुर दैनिक र  रेडियो नेपालको समाचारदाता, गणेश हिमाल साप्ताहिकको कार्यकारी सम्पादक, मंगलप्रभात किरण साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालेका थिए ।

पछिल्लो समय पिजनखबर डट कम अनलाइन पत्रिकाको संचालकको जिम्मेवारीमा रहेका शाह स्वास्थ्यमा समस्या देखिएपछि दुई बर्ष देखि राजधानीमा रहेर स्वास्थ्य उपचार गराउँदै आएका थिए ।
नेपाल पत्रकार महासंघ धादिङ र नेपाल प्रेस युनियन धादिङ शाखाका संस्थापक सचिव, दुई कार्यकाल महासंघ धादिङको अध्यक्ष,छापा माध्यम राष्ट्रिय सञ्चाल धादिङका संस्थापक अध्यक्ष, डिजिटल मिडिया नेटवर्क धादिङका सल्लाहकार, छलफल चौतारी धादिङका अध्यक्ष, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङका संयोजक दर्जनौ सामाजिक संस्थाका सल्लाहकार, साहित्यकार, स्तम्भलेखक शाहको निधनले धादिङ जिल्लाको पत्रकारिता तथा सामाजिक क्षेत्रमा ठूलो क्षती पुगेको छ ।

शाहको निधनले जिल्लाबासीलाई मात्रै होइन देश विदेशमा रहेका उनका शुभचिन्तक, हितैषि, सहकर्मी निकै स्तव्ध हुन पुगेका छन् । शाहको असामयिक निधन प्रति धादिङ न्यूज डट कम परिवार शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै शाहको दिंवगत आत्माको चिरशान्तीको कामना गर्दछ । शाहको एक श्रीमती र एक छोरी छन् ।