धादिङको रुवीभ्याली सहित देशभरका ३ गाउँपालिकामा अझै पुगेन बैंक

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मुलुक संघीयतामा प्रवेश गरेपछि देशभरका गाविसलाई हटाएर गाउँपालिका र नगरपालिका बनाईयो । संघीय संरचना अनुसार पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो , त्यति बेला निर्वाचित जनप्रतिनिधि अब केही दिनमा पदमुक्त हुदैछन । नयाँ जनप्रतिनिधि चयनका लागि २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुंदैछ ।

सरकारले संघीय संरचनाको गठन संगै देशभरका पालिका केन्द्रमा एउटा बैंक पु¥याउने घोषणा गर्दै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने लक्ष्य राखेको भए पनि धादिङको रुवीभ्याली सहित देशभरका ३ वटा गाउँपालिकामा अहिले सम्म बैंक पुगेको छैन ।

बैंकको शाखा स्थापना गर्न नसकेका स्थानीय तहमा धादिङको रुबीभ्याली,जाजरकोटको जुनीचाँदे र बझाङको साइपाल गाउँपालिकामा रहेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टका अनुसार रुवीभ्याली र साइपाल गाउँपालिका अति दुर्गम भएकाले सुरक्षाको कारण बैंक पु¥याउन नसकिएको हो भने जुनीचाँदेमा केन्द्र विवादका कारण समस्या भएको हो ।

राष्ट्र बैंकंले आर्थिक वर्ष ०७४÷७५ देखि नै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने घोषणा गरेको थियो, ति मध्ये अहिलेसम्म ७ सय ५० वटा स्थानीय तहमा बैंक पुगिसकेको छ । दुर्गम,केन्द्र विवाद र असुरक्षाका कारण ३ वटा स्थानीय तहमा पुग्न बाँकी छ ।

सबै गाउँपालिकामा बैंक नपुग्दा सामाजिक सुरक्षा भत्ता बैंकबाट बाँड्ने संघीय सरकारको लक्ष्यसमेत प्रभावित हुने गरेको छ । धादिङको रुवीभ्याली गाउँपालिकाका वासिन्दा सामान्य बैंकिङ कारोवारका लागि सदरमु्काम धादिङबेसी धाउनु पर्ने वाध्यता रहेको छ । रुवीभ्याली गाउँपालिका जिल्लाको अति विकटमा रहेको हिमाली बस्ती हो । साविकको तिप्लिङ,सेर्तुङ र लापा गाविसलाई समेटेर रुवीभ्याली बनाईएको हो ।पूर्व गृहमन्त्री समेत रहनु भएका राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङको जन्मथलो रुवीभ्यालीको सेर्तुङ हो । रुवीभ्याली गाउँपालिकाको प्रमुख र उपप्रमुख राप्रपाबाट विजयी भएका हुन ।