दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्न समय तोकेको छ ।यसै गरी चुनाव प्रचार प्रसारका क्रममा दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने भएको छ ।

आयोगले मंगलबार जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।

आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने पनि निर्देशनमा उल्लेख गरेको छ ।

यस्तै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पनि रोक लगाएको छ । यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नपाइने पनि आयोगले भनेको छ ।

यसैगरी, आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
निर्देशनमा अनुमतिबिना निजी घरजग्गा र सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाउनेदेखि २४ घण्टामा दुई पटक भन्दा रेडियो टेलिभिजनबाट उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।

आयोगले ‘स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा एक मिनेट बाहेक प्रसारण गराउन नहुने’ भनेको छ ।

– द नेपालटपबाट