गल्छीमा एमालेबाट अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले गल्छी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम टुंङ्गो लगाएर जिल्लामा पठाएको छ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले पालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस गरि जिल्लालाई पठाएको हो ।

अध्यक्षका लागि एमाले जिल्ला कमिटी सदस्य एवम गल्छी इन्चार्ज नरेश खतिवडाले आफ्नो दावेदारी प्रस्तुत गरेकोमा अन्तिममा आएर केदार खतिवडालाई समर्थन जनाएपछि अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भएको नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले जनाएको छ ।

यसै गरी उपाध्यक्ष पदमा राधा तिमिल्सिनाको नाम सर्वसम्मत सिफारिस भएको छ । सो पदका लागि उमा सिम्खडा, सीता दुवाडी खनालले दावी गरेको भएपनि तिमिल्सिनालाई समर्थन गरिदिएपछि गल्छी गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्व सम्मत सिफारिस भएको हो । यस अघि जिल्लाको सिद्धलेक गाउँपालिकाले अहिलेका अध्यक्ष र उपाध्यक्षलाई नै उम्मेदवार वनाउने सर्व सम्मत निर्णय गरेको थियो ।
गल्छीमा अध्यक्ष पदमा सिफारिस हुनु् भएका खतिवडा पार्टीको पालिका कमिटी अध्यक्ष हुनुहुन्छ भने उपाध्यक्ष पदमा सिफारिस तिमिल्सिना अहिलेपनि गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ ।

गल्छी गाउँपालिकामा एमालेले चुनाव जित्ने दावी गरिरहेको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ताधारी गठवन्धन दल मिलेर चुनावमा जाने तयारीमा रहेका छन । गल्छीमा यस अघि वडा नम्बर ७ मा हरिप्रसाद खतिवडा, वडा नम्बर ६ मा राजकुमार रिमालर वडा नम्बर ४ मा जयराम अधिकारीलाई वडाअध्यक्ष पदका लागि वडाबाट सर्व सम्मत सिफारिस गरेर अनुमोदनका लागि जिल्ला पठाईएको छ ।

साविकको बैरेनी र कल्लेरीको सबै भुभाग र गोगनपानी गाविसको केही भाग समेटेर वनाईएको गल्छी गाउँपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेले ८ वटा मध्ये सात वटा वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो । २०७४ मा एमालेबाट अध्यक्ष पदमा निर्वाचित कृष्णहरी श्रेष्ठ र ६ नम्बर वडाका अध्यक्ष राजन श्रेष्ठ अहिले एकीकृत समाजवादी तर्फ लागेका छन् । एमाले बिरुद्ध बनेको गठवन्धनलाई परास्त गरेर गल्छीमा पुनः एमाले जित्ने नेकपा एमाले गल्छी गाउँपालिका कमिटीका उपाध्याक्ष अर्जुनलाल श्रेष्ठ बताउनुहुन्छ ।
अध्यक्ष पदका लागि सिफारिस गरिएका खतिवडा साविक कल्लेरी गाविसका २०४९ र २०५४ सालमा निर्वाचित गाविस अध्यक्ष हुन । खतिवडा शालिन र भद्र नेताका रुपमा चिनिन्छिन् ।