पालिका निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते हुन गईरहेको धादिङ लगायत देशैभरका सबै पालिकाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । शनिवार आयोगले नियमित पत्रकार सम्मेलन आयोजना गरी स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनु भएको जानकारी अनुसार धादिङ लगायत देशैभरीका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको होे ।

आयोगले आईतबार र सोमबार बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ । आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।