धादिङको गजुरी र गंगाजमुनामा गठबन्धनमा समस्या

1046 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -एमाले बिरुद्ध खडा भएको पाँच दलिय गठबन्धन धादिङ जिल्लामा तीन दलमा सिमित भएको छ । गठवन्धनमा रहेका मध्ये जिल्लामा संगठन भएको जनता समाजवादी पार्टीलाई अन्य तीन दलले गठवन्धनबाट बाहिर राखेका छन् । राष्ट्रिय जनमोर्चाको भने जिल्लामा संगठननै छैन । तीन दलका जिल्ला तहका नेताहरुले आईतबार जिल्लाको १३ वटै पालिका र जिल्ला समन्वय समिति समेतको पद बाँडफाड गरेर सार्वजनिक गरेको निर्णय प्रति गजुरी र गंगाजमुनामा लिखित असहमती आएको छ ।

आईतबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेत्तृत्वले संयुक्त हस्ताक्षर गर्दै धादिङको १३ वटै पालिकामा उम्मेदवारी दिन प्रमुख र उप प्रमुखको दलिय भागबण्डामा सहमति गर्दै टुङ्गयाएको घोषणा गरेको भनिएपनि स्थानिय तहका पार्टी कमिटिहरुले भने सहमती प्रति तिव्र असन्तुष्टी जनाएर विरोध जनाएका छन् ।
गंगाजमुना गाउँपालिकाको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आईतबार संयुक्त एक विज्ञप्ती जारी गर्दै गठबन्धनको निर्णय मान्य नहुने वताएका हुन् । संयुक्त विज्ञप्तिमा जिल्ला स्थित गठबन्धनले अध्यक्ष कांग्रेसले पाउने र उप प्रमुख एकीकृत समाजवादीले पाउने निर्णय गरेकोमा काँग्रेस र माओवादी केन्द्रले सो निर्णयमा असहमती जनाएका हुन ।
माओवादी केन्द्रका गंगाजमुना गाउँ पालिका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली कांग्रेसका सभापति फैसिङ तामाङले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गठबन्धनले गरेको सहमति गंगाजमुना गाउँपालिकामा लागु गर्न नसकिने जनाएका हुन् । एकीकृत समाजवादीलाई उपाध्यक्ष दिएकोमा उनिहरुले आपत्ति जनाएका हुन । यस्तै जिल्लाको गजुरी गाउँपालिकामा एक्लै चुनाव लड्न पाउनु पर्ने माग राख्दै नेपाली क कांग्रेस गजुरी पालिका समितिले जिल्ला सभापतिलाई पत्र पठाएको छ ।

गजुरीमा कांग्रेसलाई एक्लै चुनाव लड्न दिन भन्दै पत्र मार्फत गरिएको अनुरोध बाहिर आएपछि गठवन्धन भित्र समस्या देखिएको स्पष्ट भएको हो ।
गजुरीमा पालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको भएपनि निर्णय बदलिएको पत्रमा लेखिएको छ ।