धादिङको १३ वटै पालिकामा उम्मेदवारी दिने एमाले मात्रै

1262 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ बैशाख – नेकपा एमाले बिरुद्ध देशव्यापी रुपमा सत्ता पक्षिय दलहरु मोर्चावन्दी गरेर अघि बढिरहेको बेला नेकपा एमाले धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता गराएको छ ।एमालेले एक्लै उम्मेदवारी दिएका स्थानमा गठवन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गजुरी गाउँपालिकामा गठवन्धन दलहरुका बिच सहमती जुट्न नसकेपछि प्यानल सहित सबै दलले उम्मेदवारी दर्ता गराएका छन । गजुरीमा नेपाली काँग्रेसबाट अध्यक्षमा अर्जुनप्रसाद न्यौपाने, उपाध्यक्षमा शर्मिला बिसुराल, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा चेलीमाया तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा प्रमोद रुपाखेती र उपाध्यक्षमा उमिला सु्वेदी श्रेष्ठको उम्मेदवारी परेको छ ।

बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेले धादिङको १३ वटै पालिकामा उम्मेदवारी दर्ता गराएको हो । अधिकांश स्थानमा बाजागाजा र नाराजुलुस सहित सयौंको संख्यामा कार्यकर्ताहरु उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन ।

नेकपा एमालेको तर्फबाट नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङ (रोशन) को उम्मेदवारी परेको छ । यसै गरी धुनिबेशी नगरपालिकाको मेयरमा रामराजा पाण्डे र उपमेयरमा मन्दिरा श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

गाउँपालिकाहरु तर्फ थाक्रे गाउँपालिकाको प्रमुखमा कृष्ण पन्त र उपप्रमुखमा अम्बिका रुपाखेती, गल्छी गाउँपालिकाको प्रमुखमा केदार खतिवडा र उपप्रमुखमा राधा तिमल्सिना, गजुरी गाउँपालिकाको प्रमुखमा राजेन्द्र विक्रम बस्नेत र उपप्रमुखमा भगवती खतिवडा, बेनिघाट रोराङ गाउँपालिको प्रमुखमा देव प्रसाद त्रिपाठी र उपप्रमुखमा हिरादेवी रेग्मीले उम्मदवारी दर्ता गराउनुभएको नेकपा एमाले धादिङले जनाएको छ ।


यसैगरि सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल र उपप्रमुखमा कमला शर्मा, ज्वालामुखि गाउँपालिकाको प्रमुखमा हरिराम लोहनी र उपप्रमुखमा चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुखमा उमेश थापा र उपप्रमुखमा संगीता कुमाल, गंगागमुना गाउँपालिकाको प्रमुखमा भक्त बहादुर लामिछाने र उपप्रमुखमा एन्जिला तामाङको उम्मेदवारी परेको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको प्रमुखमा सुर्वण रिमाल र उपप्रमुखमा विना कुमारी मम्बा, खनियाबास गाउँपालिकाको प्रमुखमा इमान तामाङ र उपप्रमुखमा खुपी कुमारी तामाङ, रुवीभ्याली गाउँपालिकाको प्रमुखमा प्रेम तामाङ र उपप्रमुखमा मञ्जु तामाङको उम्मेदवारी दर्ता भएको एमाले धादिङले जनाएको छ ।

थांक्रे गाउँपालिकामा अध्यक्ष पदमा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी

थांक्रे गाउँपालिकामा अध्यक्ष पदमा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेपछि कस्को उम्मेदवारी आधिकारिक हुने भन्ने विवाद बढ्दै गएको छ । अध्यक्ष पदमा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र गाउँपालिकाका अहिलेका अध्यक्ष रामकुमार आचार्यको उम्मेदवारी परेको हो । दुवै जनाले आंफुहरु आधिकारिक भएको दावी गरेका छन् । यस बिषयमा निर्वाचन आयोगले सम्वन्धित पार्टीबाट आएको सिफारिसपत्रको आधिकारिकता जाँचबुझ गरी निर्णय गर्ने भएको छ ।

काँग्रेसको १० पालिकामा प्रमुख र ८ पालिकामा उपप्रमुख उम्मेदवार

नेपाली काँग्रेसले वेनिघाट रोराङमा अध्यक्षमा देवीप्रसाद सिलवाल र उपाध्यक्षमा सुशिला मगर, सिद्धलेक गाउँपालिकामा अध्यक्षमा परशुराम खतिवडा, नीलकण्ठ नगरपालिकामा प्रमुखमा भिमप्रसाद ढुंगाना, त्रिपुरासुन्दरी गाँउपालिकामा अध्यक्षमा राजु उप्रेती र उपाध्यक्षमा सुमित्रा तिमिल्सिना, गंगाजमुना गाउँपालिकामा अध्यक्षमा भक्त लामा, ज्वालामुखी गाउँपालिकामा अध्यक्षमा यमनाथ दनै र उपाध्यक्षमा शान्ता श्रेष्ठ, नेत्रावती गाउँपालिकामा अध्यक्षमा मेगनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ खनियाबास गाउँपालिकामा अध्यक्षमा रणबहादुर तामाङ र रुवीभ्यालीमा उपाध्यक्षमा फेलामा तामाङको उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रको चार पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख उम्मेदवार

गठवन्धन दल मध्येको नेकपा माओवादी केन्द्रले जिल्लाको गजुरी, वेनिघाटरोराङ, नेत्रावती डबजोङ र रुवीभ्यालीमा प्रमुख पदमा र थांक्रे, गजुरी, नीलकण्ठ, त्रिपुरासुन्दरी, गंगाजमुना र खनियवासमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । जस्मा गजुरीको अध्यक्षमा गणेशलाल श्रेष्ठ, वेनिघाटरोराङमा कृष्णबहादुर थपलिया, नेत्रावती डवजोङमा उर्मिला तामाङ र रुवीभ्यालीमा रामसिहं तामाङले अध्यक्ष पदमा र थाँक्रेमा यन्त्रवहादुर थापा,गजुरीमा चेलीमाया तामाङ, नीलकण्ठमा दिपक विश्वकर्मा, त्रिपुरासुन्दरीमा देवराज धरेल, गंगाजमुनामा रामेश्वर सिम्खडा र खनियाबासमा सेकेमान तामाङको उपप्रमुखमा उम्मेदवारी परेको छ ।

नेकपा एकीकृत समाजवादीको तीन प्रमुख र चार उपप्रमुखमा उम्मेदवारी

सत्ता गठवन्धन भित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले जिल्लाको धुनिबेसी नगरपालिकाको प्रमुखमा बालकृष्ण आचार्य, गल्छीको अध्यक्षमा कृष्णहरी श्रेष्ठ गजुरीको अध्यक्षमा प्रमोद रुपाखेती र गजुरीको उपाध्यक्षमा उर्मिला सुवेदी ,वेनिघाट रोराङको उपाध्यक्षमा टापवहादुर श्रेष्ठ, गंगाजमुनाको उपाध्यक्षमा नारायण कार्की र ज्वालामुखीको उपाध्यक्षमा धर्मवहादुर अर्यालको उम्मेदवारी परेको छ ।

एमालेले उठायो नगर प्रमुखमा महिला उम्मेदवार

नेकपा एमाले धादिङ ले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नीलकण्ठ नगरपालिकाको प्रमुख –मेयर० पदको लागि महिलालाई सर्वसम्मत उम्मेदवार बनाएको छ । धादिङ जिल्लाको नगरपालिका मध्य नीलकण्ठ नगरपालिकामा गंगादेवी श्रेष्ठलाई मेयर पदमा उम्मेद्वार बनाएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी गंगादेवी श्रेष्ठ अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा धादिङको इन्चार्ज समेत हुनुहुन्छ । धादिङ जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका मध्ये नेकपा एमालेले प्रमुख पदमा महिला उम्मेदवार बनाएको श्रेष्ठ मात्र हुनुहुन्छ । नेकपा माओवादी केन्द्रले नेत्रावती डवजोङ गाउँपालिकाको प्रमुखमा उर्मिला तामाङलाई उम्मेदवार वनाएको छ । तामाङ २०७४ मा माओवादी केन्द्रबाट नेत्रावती डवजोङको उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
जिल्लाका सबै स्थानीय तहमा अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुको पनि विभिन्न पदमा उम्मेदवारी परेको छ ।