स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस धादिङको आग्रह

1079 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाली कांग्रेस धादिङलाई वागी उम्मेदवारका कारण  पार्टी भित्र मात्रै होइन गठवन्धनमा पनि समस्या उत्पन्न भएको छ । गठवन्धनको मुख्य दल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु गठवन्धनको बिरोध र आन्तरिक टिकट वितरणमा असहमती राख्दै आधिकारिक उम्मेदवार बिरुद्ध धेर ठाउँमा वागी दिएर नेत्तृत्वलाई चुनौती दिईरहेका छन् ।

तालमेलमा नेपाली काँग्रेसले टिकट पाएका स्थान र अन्य दललाई छाडेको ठाउँमा पनि असहमती जनाउँदै आफ्ना पार्टीका सदस्यहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेस धादिङले बिहीवार बिज्ञप्ति जारी गरेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ ।

नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बिहीवार विहान विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका सदस्य र कार्यकर्तालाई आग्रह गरेका हुन ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने केन्द्रीय संयन्त्रको निर्णयलाई जिल्ला संयन्त्र र पार्टीले कार्यान्वयन गर्ने क्रममा पार्टीको निर्णयबमोजिम पालिका र वडाहरूमा आधिकारिक उम्मेदवारी दर्ता गराउँदा धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काँग्रेस सभापति अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ – ‘केही पालिका र वडामा साथीहरूले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जानकारी जिल्ला पार्टीलाई प्राप्त भएको छ । नेपाली कांग्रेस धादिङ साथीहरूको पार्टी संगठनमा योगदान र क्षमताको सम्मान गर्दै सबै साथीहरूलाई एकैपटक न्याय र अवसर उपलब्ध गराउन नसकिएको यथार्थलाई स्वीकार गर्दछ ।’

वर्तमानको गम्भीर राजनीतिक चुनौती र पार्टी एवम गठबन्धनलाई जिताउनु पर्ने हाम्रो साझा जिम्मेवारीलाई विश्लेषण गर्दै र नेपाली कांग्रेस, केन्द्रीय कार्यालयको बैशाख १४ गतेको परिपत्र एवम दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको बैशाख १४ गतेको निर्णयलाई ध्यानमा राख्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका सदस्य साथीहरूलाई आ-आफ्ना उम्मेदवारी फिर्ता लिनुहुन नेपाली कांग्रेस धादिङ हार्दिक अनुरोध गर्दछ सभापति अधिकारी द्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेसका सदस्यहरुले आधिकारिक उम्मेदवार बिरुद्ध सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी निलकण्ठ नगरपालिकामा दिएका छन । मेयर, उपमेयर, वडाअध्यक्षका विरुद्ध वागी उम्मेदवारी परेको छ । नीलकण्ठ नगरपालिकाका साथै नेत्रावती डवजोङ, गल्छी, वेनिघाटरोराङ लगायतका पालिकामा पनि स्वतन्त्र उम्मेदवारले आधिकारिक उम्मेदवार बिरुद्ध वागी दिएका छन् ।
काँग्रेसको यो आग्रहलाई कतिले स्विकार गरी कार्यान्वयन गर्लान त्यो भने चासोको बिषय भएको छ ।