धादिङमा ७ जना महिला वडाअध्यक्षका उमेदवार

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि धादिङका दलहरु स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गर्न सकारात्मक देखिएका छैनन् । संविधानले ३३ प्रतिशत महिला सहभागिता भने पनि जिल्लाको १३ स्थानीय तहको १०४ वडामा ७ जना मात्रै महिला वडाअध्यक्षको उमेदवारी परेको छ । यसअघिको स्थानीय तहमा जिल्लाभर एक जना पनि महिलाले वडाअध्यक्ष जित्न सकेका थिएनन् ।

निर्वाचन आयोगले शनिवार साँझ सार्वजनक गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा जिल्लाको १०४ वटा वडाका लागि अध्यक्ष पदमा जिल्लाभरबाट जम्मा ७ जना महिला उम्मेदवार रहेका छन् । वडाअध्यक्ष उठाइएका ७ जनामध्ये नेकपा एकीकृत समाजवादीबाट ३ जना जसका गजुरी ३ मा शोभा चेपाङ, ज्वालामुखी ६ मा जुनाराना मगर र रुवीभ्याली ६ मा रुपा घले अमृता गुरुङ रहेका छन् ।

त्यसैगरी राप्रपा बाट गंगाजमुना ७ मा मिरा कार्की, ज्वालामुखी ७ मा दयालक्ष्मी लोहनी, नेकपा एमालेबाट त्रिपुरासुन्दरी ५ मा कमला राना मगर र स्वतन्त्रबाट रुवीभ्याली ६ मा अमृता गुरुङ उम्मेदवार रहेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले जिल्लामा एक जना पनि महिला वडाअध्यक्ष अघि सारेका छैनन् । धादिङमा १ सय ४ वडा अध्यक्षका लागि ४ सय १८ जना प्रतिस्पर्धामा छन् ।

जिल्लाको १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले गंगादेवी श्रेष्ठलाई प्रमुखको उम्मेदवार वनाएको छ भने नेकपा मओवादी केन्द्रले नेत्रावती डवजोङमा उर्मिला तामाङलाई अध्यक्ष पदमा अघि सारेको छ । यि बाहेक अरुलाई जिल्लामा प्रमुख पदमा दलहरुले उम्मेदवार वनाएका छैनन् । गठवन्धनबाट उम्मेदवारी दिएका अधिकांश स्थानमा प्रमुख र उपप्रमुखमा फरक फरक दलको तर्फबाट दुवै जना पुरुषलाई उम्मेदवार बनाइएको छ ।

जिल्लाको १३ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेदवारी दिनेमा नेकपा एमाले मात्रै भएको छ । राप्रपाले १३ प्रमुख र १२ उपप्रमुखमा, मंगोेल नेशनल अर्गनाईजेशनले १२ प्रमुख ११ उपप्रमुख, नेपाली काँग्रेसले ९ प्रमुख, ५ उपप्रमुख, जनता समाजवादी पाटीले ५ प्रमुख २ उपप्रमुख, नेकपा माओवादी केन्द्रले ४ प्रमुख, ४ उपप्रमुख, एकीकृत समाजवादीले ३ प्रमुख र ५ उपप्रमुख पदमा उम्मेदवारी दिएक छन् । त्यसैगरी जनजागरण पार्टीले २ प्रमुख, २ उपप्रमुख नेपाली जनता दलले १(१ प्रमुख उपप्रमुख, नेपाल मजदुर किसान पार्टीले प्रमुख १ र आमूल परिवर्तन मसिहा पार्टीले उपप्रमुख १ स्थानमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।