पोष्टर, भित्ते लेखन गरेमा उम्मेदवारी रद्द हुने निर्वाचन आयोगको चेतावनी

676 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरे उम्मेदवार रद्द गर्ने भनेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै केही स्थानमा प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरी विज्ञप्तिमा जारी गरेको छ ।

आचारसंहितामा २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

यस्तै कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान पनि आचारसंहितमा राखिएको छ ।