धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

884 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा भिमप्रसाद ढुंगाना र खनियाबास गाउँपालिकामा रणबहादुर तामाङले दोश्रो पटक प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

धुनिबेसीका आचार्य र गल्छीका श्रेष्ठ यस अघि एमालेबाट निर्वाचित भएकोमा यो पटक एकीकृत समाजवादीबाट चुनावमा भिडेका हुन् । थांक्रेका आचार्य, गजुरीका बस्नेत र सिद्धलेकका सिलवालले एमालेबाट र नीलकण्ठका ढुंगाना र खनियावासका तामाङले दोश्रो पटक नेपाली काँग्रेसबाट प्रतिस्पर्धा गर्न लागेका हुन । जिल्लाको १३ स्थानीय तहमध्ये गंगाजमुनामा यस अघिका वडाअध्यक्ष भक्तबहादुर लामिछाने र नेत्रावती डवजोङमा उपाध्यक्ष उर्मिला तामाङले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका छन् । यि बाहेक अन्य पालिकामा भने नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् ।

थांक्रे गाउँपालिकामा २०७४ सालमा माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका यन्त्रबहादुर थापा यस पटक गठवन्धनबाट उपाध्यक्ष पदमा र यस अघि एमालेका उम्मेदवारसंग वडा अध्यक्षमा पराजित भएका रामशरण बिंडारी अहिले गठवन्धनबाट अध्यक्ष पदमा उठेका छन् । गजुरीमा यस अघि एमालेका राजेन्द्रबिक्रम बस्नेत संग अध्यक्ष पदमा पराजित भएका माओवादीका गणेशलाल श्रेष्ठ यो पटक पनि बस्नेतसंगै संग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित थांक्रेको अम्बिका रुपाखेती र सिद्धलेकको कमला शर्मा र गंगाजमुनाको एन्जिला तामाङ पुन एमालेबाटै उपाध्यक्षमा उठेका छन् । जिल्लाका धेरैवटा वडाका वडाअध्यक्षहरुले पनि दोश्रो पटक वडाअध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

धादिङमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख पदका उम्मेदवारहरु मध्ये नीलकण्ठ नगरपालिकाका भिमप्रसाद ढुंगाना २०४९ र २०५४ सालमा म्ुरलीभन्ज्याङ गाविसका अध्यक्ष र २०७४ मा नीलकण्ठ नगरपालिकाको प्रमुखमा निर्वाचित भएका व्यक्ति हुन । ढुंगाना यस पटक समेत गरी चौथो पटक चुनावमा भिड्दैछन ।

गल्छीका कृष्णहरी श्रेष्ठ पाँचौं पटक चुनावी मैदानमा उत्रिएका छन् । श्रेष्ठ जिल्लामै सबैभन्दा धेरै पटक जनप्रतिनिधि भएर अवसर पाउनेमा पर्दछन् । श्रेष्ठ २०२७ सालमा कल्लेरी गाउँ पञ्चायतको वडा सदस्य, २०४३ सालमा जनपक्षिय उम्मेदवार, २०४९ मा जिल्ला विकास समिति धादिङको सदस्य, २०५४ सालमा बैरेनी गाविसको अध्यक्ष र २०७४ सालमा गल्छी गउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । एमालेबाट राजनिति गर्र्दै आएका श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका हुन ।

श्रेष्ठले यो पटक २०४९ र २०५४ मा एमालेबाट कल्लेरी गाविसको अध्यक्षमा विजयी केदार खतिवडासंग प्रतिस्पर्धा गर्दैछन् । यसै गरी थांक्रेका आचार्य र सिद्धलेकका सिलवाल पनि २०५४ सालमा तत्कालिन गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पुरानै अनुहारले पटक पटक अबसर पाउँदा नयाँ पुस्ता अबवसरबाट बञ्चित हुँदै आएका छन् ।