धादिङमा कांग्रेसको बागी उम्मेदवारलाई पार्टीबाट हटाएर कारवाही

924 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ बैशाख । नेपाली काँग्रेस धादिङले स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उम्मेदवारी दिएकाहरूलाई पार्टीबाट हटाएर कारबाही गरेको छ ।
नेपाली कांग्रेस धादिङले बिहीबार जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर रहेको एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई कारबाही गरेको जनाएको छ ।
कारबाहीमा पर्नेहरूमा नीलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका टेकजंग लामा, खनियाँबास गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका फलबहादुर तामाङ र सोही गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी सरिता तामाङ छन् । मुख्य पाँच जनाको बिज्ञप्तिमा नाम उल्लेख गरिएको छ भने वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएकाहरुको हकमा बिज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।
उनीहरूसँगै उम्मेदवारीका समर्थक र प्रस्तावकलाई समेत नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ उपधारा १३(ग) बमोजिम कांग्रेसको सदस्य नरहेको व्यहोरा विज्ञप्तिमा उल्लेख छ ।
पार्टीबाट कारवाही गरिएकाहरुलाई चुनाव प्रचार तथा अन्य काममा नेपाली कांग्रेसको झण्डा, लोगो र व्यानर प्रयोग नगर्न समेत सचेत गराइएको छ ।
कारवाही परेकाहरु मध्ये  कल्पना अधिकारी  काँग्रेसको प्रभावशाली महिला नेत्तृ हुन । ट्रेड युनियन काँग्रेसको केन्द्रिय उपाध्यक्ष समेत रहेकी अधिकारीले  गठवन्धन बिरुद्ध वागी उम्मेदवारी दिएकी छन् । नीलकण्ठ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी अधिकारीको पक्षमा काँग्रेसका पुराना नेता कार्यकर्ता र युवापंक्ति देखिएको छ ।

काँग्रेसमा पालिका प्रमुख उपप्रमुख बिरुद्ध मात्रै होइन वडा तहमा पनि वागी उम्मेदवार खडा भएका छन् । नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ , ८ मा पनि वागी उम्मेदवारले आधिकारिक उम्मेदवारलाई चुनौती दिईरहेका छन् ।

बिहीवार दिउँसो जारी भएको बिज्ञप्तिमा वेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका देवीप्रसाद सिलवाललाई पनि कारवाही गरेको जानकारी दिएको काँग्रेसले लगत्तै अर्को सूचना जारी गर्दै सिलवालको उम्मेदवारी फिर्ता भईसकेको तर जिल्लामा जानकारी आउन ढिलाई भएको भन्दै सिलवाललाई कारवाही नगरिएको काग्रेसले स्पष्टिकरण दिएको छ ।