धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा नेकपा एमालेका यदुकुमार खतिवडा ११३५ मत ल्याएर प्यानल सहित बिजयी भएका छन् । वडाअध्यक्षमा विजयी भएका यदुकुमारले गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका माधव खतिवडालाई पराजित गरेका हुन । यदुको निकटम प्रतिद्वन्द्वी माधवले ९३८ मत पाएका थिए ।

वडाध्यक्षमा प्यानल सहित विजयी भएको एमालेले गाउँपालिकाको अध्यक्षमा पनि अग्रता लिएको छ भने उपाध्यक्षमा भने एमालेलाई गठवन्धनले पछि पारेको छ । अध्यक्षमा एमाले उम्मेदवार केदार अतिवडाले १३१२ प्राप्त गरेका छन् भने गठवन्धनबाट एकीकृत समावजादीका कृष्णहरी श्रेष्ठले ७९२ मत प्राप्त गरेका छन् । जसअनुसार अध्यक्षमा ५२० मतको मतान्तर रहेको छ ।
यस्तै उपाध्यक्षमा एमालेको राधा तिमिल्सिनाले ९९८ मत पाउँदा गठबन्धनबाट नेपाली काँग्रेसका भाईकाजी तिवारीले ११०६ मत पाएका छन । जसअनुसार उपाध्यक्षमा १०८ मतको मतान्तर रहेको छ ।
जिल्लाको १३ स्थानीय तह मध्ये गल्छी गाउँपालिकाबाट नेकपा एमालेले विजयी यात्रा शुरु गरेको छ । यसै गरी जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जिवनसिंङ तामाङ विजयी भएका छन् ।
कांग्रेसका तामाङले ५ सय ३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामाले ५ सय ५ मत पाएका छन । वडाको सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।