पक्षघातले थलिएकी चन्द्रमायालाई ओछ्यानमै नागरिकता बितरण

460 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,७ असार – शारीरिक रुपमा अशक्त भएर ओछ्यान परेकी धादिङको गल्छी २ बसेरीकी चन्द्रमाया सुनारीलाई प्रकृया पुरा गरी घरमै गएर नागरिकता बितरण गरिएको छ । गएको एक बर्ष देखी पक्षघात भएर अशक्त हुन पुगेकी चन्द्रमायालाई जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व प्रसाद कोइरालाले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन । गल्छी २ नम्बर वडाका अध्यक्ष षडानन्द खनालको पहलमा जिल्ला प्रशासन कार्यालयका ना।सु। सुरेन्द्र घिमिरे,वडा सचिव टिकाराम पौडेल, गल्छी गाउँपालिकाका कर्मचारी विपिन मल्ल समेतको टोली चन्द्रमायाको घरमा पुगेर नागरिकता वितरण गरेको हो । टोलीमा समाजसेवी बाबुकाजी श्रेष्ठ,गगन बहादुर गरन्जा मगर, शिक्षक खोम बहादुर मगरको पनि उपस्थित रहेको थियो ।
चन्द्रमायाको जन्मस्थान रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ५ हो । गल्छी २ का सुर्यबहादुर सुनारीसंग विबाह गरेर आएकी उनलाई एक्कासी पक्षघात भएर हिंडडुल गर्न नसकेपछि समस्या भएको थियो । सुर्यबहादुरको २०७८ फागुण १७ गते मृत्यु भएको थियो । श्रीमानको मृत्यु्पछि एकल महिला परिचयपत्र तथा अपाङ्गता परिचय पत्र वनाईदिन नागरिकता अनिवार्य भएकोले उनको शारीरिक अवस्थालाई ख्याल गरी घरमै पुगेर नागरिकता दिईएको सहायक प्रमुख जिल्ला अधिकारी कोईरालले जानकारी दिनुभयो ।
वडा अध्यक्षको अनुरोधलाई स्विकार्दै घरमै आएर नागरिकता दिन प्रशासन राजी भएपछि मंगलबार उक्त नागरिकता वितरण गरिएको हो । चन्द्रमायालाई यहि महिनामा गाउँपालिका वाट अपाङ्गता परिचय पत्र वितरण गरिने वडा अध्यक्ष खनालले वताउनुभयो ।